सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपराध नियन्त्रण गर्न कैलाली प्रहरीद्वारा धनगढीको १९ स्थानमा सीसी क्यामेरा जडान

२०७७ मंसिर १६, ०१:२३ कमल सावद

धनगढी: धनगढी उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा प्रहरीले नयाँ सीसी क्यामेरा जडान गरेको छ ।

प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा हुने आपराधिक गतिविधी नियन्त्रण तथा चोरी, डकैती, दुर्घटना गराएर भाग्नेलाई नियन्त्रण तथा घटनाको अनुसन्धान गर्नेलगायत उदेश्यले नयाँ सीसी क्यामेरा जडान गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमिक्त सचिव तेजप्रकाश जोशीले जिल्ला प्रहरी कार्यालयलाई सीसी क्यामेरा खरिदको लागि ३० लाख बजेट अख्तियारी दिएको बताए । हाल जडानको कार्य सकिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले यसअघि १२ स्थानमा मात्र सीसी क्यामेरा जडान गरिएकोमा ७ वटा थप्दै १९ स्थानमा सीसी क्यामेरा जडान गरिएको जानकारी दिए । पहिले जडान गरिएका १२ सीसी क्यामेरा काम नलाग्ने भएको भन्दै १९ वटै नयाँ सीसी क्यामेरा जडान गरिएको उनको भनाइ छ ।

उनका अनुसार विभिन्न घटनालाई निगरानी गर्न तथा अनुसन्धानलाई सहज बनाउन जिल्ला प्रहरी कार्यालयदेखि त्रिनगर–गौरीफन्टा सीमा क्षेत्रसम्म सीसी क्यामेरा जडान गरिएका हुन् । 

उसो त कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा ४ वर्षअघि सीसी क्यामेरा जडान गरिएको थियो । २०७३ सालको माघमा बैँक तथा वित्तीय संस्था, व्यवसायीको १७ लाख ५६ हजार, उद्योग वाणिज्य संघ कैलालीको २ लाख र युएनडीपीको साढे ४ लाख खर्च गरेर जडान गरिएका १२ क्यामेरा भने हाल विस्थापित गरिएको छ । 

पहिले जडान गरिएका १२ सीसी क्यामेरा मध्ये ४ क्यामेरा मात्र कार्यालय प्रयोजनका लागि राखिएको प्रहरीले जनाएको छ । 

क्लोज सर्किट टेलिभिजन क्यामेरालाई छोटकरीमा सीसी क्यामेरा भन्ने गरिन्छ । सीसी क्यामेरामार्फत निश्चित स्थानमा क्यामेराहरु जडान गरि भिडियोमार्फत ती स्थानको निरन्तर निगरानी गरिरहन सकिन्छ । आपराधिक घटनाको निगरानी गर्न सीसी क्यामेरा जडान गरिएको हो ।


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस