सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको फूलबारीमा बच्चाहरुको छुट्टै फूलबारी !

धनगढी उपमहानगरपालिका १९ फूलबारीमा निर्माधिन बाल उद्यान
धनगढी उपमहानगरपालिका १९ फूलबारीमा निर्माधिन बाल उद्यान
२०७७ मंसिर १५, ०७:३२ नारायण अवस्थी

धनगढी : धनगढी उपमहानगरपालिका १९ फूलबारीमा निर्माण भइरहेको बाल उद्यानको काम अन्तिम चरणमा पुगेको छ । १३ कट्ठा क्षेत्रफलमा निर्माधिन उद्यानको काम अन्तिम चरणमा पुगेको हो ।

२०७६ असारमा संघीय सरकारको ३० लाख बजेटमा निर्माण सुरु गरिएको उद्यानलाई धनगढी उपमहानगरपालिकाले थप विस्तार गर्दै २ करोडको लागतमा निर्माण गर्न थालेको छ ।

धनगढी उपमहानगरपालिकाका इन्जिनीयर उपेन्द्र भट्टले काम अन्तिम चरणमा रहेको बताउँदै सम्झौता अवधीमै काम सम्पन्न हुने जानकारी दिए । निर्माण व्यवसायीले पनि कामलाई तीव्र बनाएको जनाएको छ । निर्माण व्यवसायी टेण्डी शेर्पाले २०७८ जेठ मसान्तभित्र काम सक्नुपर्ने भएपनि आगामी पुस मसान्तभित्रै काम सम्पन्न गर्ने जानकारी दिए ।

घर नजिकै बाल उद्यान निर्माण हुनथालेपछि स्थानीय खुशी भएका छन् । बाल उद्यान बनेपछि आफ्ना नानीबाबुहरुलाई घर नजिकै रमाउने अवसर मिल्ने बताउँछिन् फूलबारीकी स्थानीय शिवानी केप्छाकी मगर ।

बाल उद्यानभित्र ५ कोठे र  २ कोठे छुट्टछुट्टै २ वटा पक्की भवन, ६ वटा शौचालय, डिप बोरिङसहित १ वटा पानीको फोहरा जडान हुने भएको छ । त्यस्तै, एउटा सालको काठबाट बनेको नमुना घर र प्यारापिट समेत निर्माण भइरहेको छ । बिरुवा र फूल रोप्ने ट्र«याक निर्माण समेत हुने जनाइएको छ ।

बाल उद्यान निर्माणपछि बालबालिकालाई खेल्न मात्र नभई स्थानीय स्तरमा रोजगारी सिर्जना हुने समेत विश्वास लिइएको छ । 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस