सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘गारबेज’ धरौटी रकम फिर्ता लग्न आग्रह

२०७७ मंसिर १४, १०:५६ रासस

हिमाल आरोहणका क्रममा फोहरमैला व्यवस्थापनसम्बन्धी राखिएको धरौटी रकम र्फिता लैजाने नेपाल पर्वतारोहण सङ्घले कम्पनीहरूलाई आग्रह गरेको छ । सङ्घले जिम्मा पाएको हिमाल आरोहणका क्रममा राखिएको धरौटी रकम लामो समयसम्म फिर्ता नलगेपछि सङ्घले कम्पनीहरूलाई फिर्ता लैजान अनुरोध गरेको हो ।
लामो समयदेखि धरौटीबापतको रकम सङ्घको खातामा रहँदा लेखापरीक्षणमा समस्या हुने गरेको सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । “चारवटा कम्पनीले विगत आठ वर्षदेखिको रकम फिर्ता लगेको छैनन्, पटक÷पटक अनुरोध गर्दासमेत फिर्ता लैजान आनाकानी गरेपछि बाध्य भएर रकम जफत गर्ने निर्णयमा पुगेका हौँ”, उनले भने ।

कतिपय कम्पनीहरूले अन्य आरोहणका क्रममा सोही धरौटी रकमको प्रयोग गर्ने भन्दै रकम फिर्ता नलग्ने गरेको सङ्घले जनाएको छ । धरौटी रकम फिर्ता लैजान सङ्घले पटक÷पटक गरेको अनुरोधमा कम्पनीहरूले अरू आरोहणका लागि प्रयोग गर्ने भन्दै फिर्ता लैजान नमान्ने गरेको महासचिव गुरुङले जानकारी दिए ।  
उनका अनुसार गत असोज २९ गते बसेको केन्द्रीय सचिवालय बैठकले धरौटीबापतको रकम लामो समयदेखि सङ्घमा रहँदा समस्या भएपछि धरौटी रकम राखेको मितिले दुई वर्षभित्र फिर्ता नलगेमा सङ्घकै आम्दानी हुने निर्णय गरिएको हो ।

विभिन्न नौ कम्पनीले राखेको गारबेज धरौटीबापतको रकम फिर्ता लगेका छैनन् । नौ कम्पनीको  पाँच लाख भन्दा बढी धरौटी रकम सङ्घको खातामा रहेको जनाइएको छ । सङ्घले आरोहण व्यवस्थापन गरेको हिमाल आरोहणका लागि प्रतिसमूह ५ सय अमेरिकी डलर गारबेज धरौटीस्वरुप राखिने गरिएको छ ।

सङ्घले मङ्सिर १२ गते एक सूचना प्रकाशन गर्दै ३५ दिनभित्र उक्त रकम फिर्ता नलगेमा स्वतः सङ्घको आम्दानी हुने भन्दै फिर्ता लैजान कम्पनीहरूलाई आग्रह गरेको छ ।
 

कमेन्ट लोड गर्नुस