सुदूर नेपाललाई विश्वसँग जोड्दै

च्याउ खेतीबाट वार्षिक २५ लाख आम्दानी गर्दै खेमराज

२०७७ मंसिर १४, ०७:११ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा : डडेल्धुरामा पछिल्लो समय कृषिप्रति सर्वसाधारणको आकर्षण बढ्दो देखिएको छ। 

खेमराज जोशी पनि अमरगढी नगरपालिका मौरडामा दुई रोपनी जग्गा भाडामा लिएर च्याउ बीउ उत्पादनका साथै च्याउ व्यवसायमा रमाएका छन्।  

विदेश जान तयार भइ घर फर्केका उनी आजभोलि वार्षिक २० देखि २५ लाखसम्म आम्दानी गर्न सफल भएका छन्।

नगरपालिकाको वडा नम्बर २ मौरोडामै घर भएका जोशी यतिबेला च्याउ खेतीमा व्यस्त छन्। ४ वर्षअघि झण्डै दुई लाख ५० हजारको लगानीमा च्याउ खेती सुरु गरेका उनी जिल्लाकै नमूना कृषक बन्दैछन्।

च्याउको बजारीकरणका लागि कुनै समस्या नभएको बताउने जोशी एकपटकमा ३ सय  किलोसम्म च्याउ बिक्रि गर्दै आइरहेका छन्। ‘डडेल्धुराको च्याउ सुदूरका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु’ उनले भने, ‘वर्षमा ३ पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसमा लाभ नै लाभ छ।’

जोशी आफु मात्रै च्याउ खेतीमा सक्रिय छैनन्। उनले अन्य ७ जनालाई समेत रोजगारी प्रदान गरेका छन्। 

च्याउ व्यवसायमा भविष्य राम्रो देखेर आफु लागिपरेको उनले बताए। ‘पहिले च्याउको बीउ लिन काठमाण्डौं जानुपर्ने बाध्यता थियो। तर गत वर्ष प्रदेश सरकारले केही अनुदान दिएपछि अहिले डडेल्धुरामा आफैले बीउ उत्पादन गर्ने गरेको छु’ उनले भने। 

जोशीको च्याउ खेती अहिले डडेल्धुरामै नमूना बनेको कृषि अधिकारीहरु बताउँछन्। 
 

कमेन्ट लोड गर्नुस