सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले झोलुंगे पुल एकतर्फी बन्द गरिदिदा धार्चुला छिरेका नेपालीलाई सास्ती

नेपाल भारत जोड्ने दार्चुला र धार्चुलाको झोलुंगे पुलमा शनिबार देखिएको भीड
नेपाल भारत जोड्ने दार्चुला र धार्चुलाको झोलुंगे पुलमा शनिबार देखिएको भीड
२०७७ मंसिर १४, ०५:१३ नरेन्द्र कार्की

दार्चुला: दार्चुला र धार्चुलाको प्रशासनको सहमति अनुसार हप्ताको बुधबार र शनिबार दार्चुलास्थित नेपाल भारत जोड्ने झोलुंगे पूल खोल्ने पूर्ववत सहमति विपरित भारतले एकतर्फी पुल बन्द गरिदिएको छ। 

शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पुल खुल्ने जानकारी पाएपछि धार्चुला गएका नेपालीहरु धार्चुलामै रहेको बेला भारतले एकतर्फी पुल बन्द गरिदिएको हो।

पुल बन्द गरिदिएपछि समान किन्नको लागि धार्चुला गएका सयौं नेपाली दिनभरी भोकभोकै बस्न बाध्य भएका थिए। 

मंसिर ११ गतेबाट पेन्सन बुझ्ने नेपालीको लागि बिहान १० बजेदेखि ११ बजे र दिउँसो ४ बजेदेखि ५ बजेसम्म पुल खुला हुँदै आएको थियो।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र लेख्दै पुलमा भिडभाड हुन नदिन तथा उपभोक्ता मार्कामा परेको भन्दै हप्तामा दुई दिन खोल्न प्रस्ताव गरेको थियो।

प्रस्ताव गरेकै दिन बिहान १० बजेदेखि ३ बजेसम्म पुल खोलेको धार्चुला प्रशासनले शनिबार एकाएक माथिको आदेश नभएको भन्दै पुल बन्द गरिदिएपछि नेपालीहरु समस्यामा परेको सुरक्षा अधिकारीले जनाएका छन्। 

बिहान १० बजे धार्चुला छिरेका नेपालीहरु दिउँसो ४ बजेपछि मात्रै दार्चुला आउन पाएका थिए।

पुल खुल्दा सयौंको संख्यामा भिड लाग्यो। समान चेकजाँचमै प्रहरी र सशस्त्रलाई भन्सारमा हम्मे हम्मे भएको थियो। 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस