विवाहको मौसम सुरु, तर कैलाली–कञ्चनपुरका पार्टी प्यालेस सुनसान
धनगढी : कोराना कहरपछि झण्डै ८ महिनादेखि बन्द कैलाली कञ्चनपुरका पार्टी प्यालेस खुुल्ने निश्चित छैन ।
विवाह हुने क्रम सुरु भएपनि स्थानीय प्रशासनले लगाइएको रोक नहटेपछि अझै खुल्न नसकेका हुन् ।
तर कोरोना कहरपछि लामो बन्दको चेपुवामा परेका व्यवसायीहरूले भने बिहेको याममा पार्टी प्यालेस सञ्चालन गर्न पाउनुपर्ने माग गर्न थालेका छन् ।
उनीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न दिनुपर्ने स्थानीय प्रशासन सँग माग गरेका हुन् ।
भानु पार्टी प्यालेस महेन्द्रनगरका सञ्चालक भानदेव जोशीले दिनेशखबरसँग भने, ‘सबै व्यवसाय सञ्चालनमा आए तर हाम्रो व्यवसाय अझै खोल्न पाएका छैनौँ । ठूलो लगानी गरेर व्यवसाय सुरु गरियो तर ८ महिनादेखि बन्द हुँदा निकै अफ्ठ्यारो भएको छ ।’
पसल, डिपार्टमेन्टल स्टोर, होटेललगायतका व्यवसायहरु सञ्चालन भएपनि प्यार्टी प्यालेस सञ्चालन गर्ने अनुमति नपाउदा आफ्नो व्यवसाय नै धरापमा परेको उनीहरुको गुनासो छ ।
ओम प्यालेस धनगढीका सुपरभाइजर सुवाश पडालले भने, ‘सरकारले अनुमति दिइसकेको छैन । तर धनगढीमा रहेको ओम प्यालेसले भने यो महिनादेखि सेवा दिन थालेको छ ।’ विवाहका लागि मात्रै सीमित पहुनाहरुका लागि बुकिङ लिएको पडालको भनाइ छ ।
महेन्द्रनगरको ममताज वेडिङ बेल्ट्समा स्थानीयहरु विवाह गर्न बुकिङ गर्न आइरहे पनि स्थानीय प्रशासनले अनुमति नदिदा समस्या भइरहेको सञ्चालकले बताएका छन् । मंसिर महिना विवाह गर्ने समय भएपनि अहिलेसम्म एउटा विवाहको सानो कार्यक्रम मात्रै सम्पन्न गराएको ममताज वेडिङका सञ्चालक धिरज चन्द जानकारी दिए ।
कोभिड सुरक्षा मापदण्डको अधिनमा रहेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने पार्टी प्यालेस सञ्चालकहरुको माग छ । भौतिक दूरी, शरीरको तापक्रम परीक्षण, मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरेर पार्टी प्यालेस चलाउन अब रोक्न नहुने बताउँछन् धनगढीको शुभश्री प्यालेसका व्यवस्थापक खगेन्द्र भट्ट ।
कैलाली र कञ्चनपुरमा करिब १ दर्जन बढी पार्टी प्यालेस रहेका छन् । कोरोना कहरपछि स्थानीय प्रशासनले बढी जमघट हुने स्थल बन्द गर्न भनी निषेधाज्ञा जारी गरेपछि बन्द भएका हुन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृह मन्त्रालयले अझै खोल्न अनुमति नदिए पनि सुरक्षाको मापदण्ड कायम गरी सीमित रुपमा सञ्चालन गर्न दिएको बताए ।