सेती अस्पतालद्वारा सीटी स्क्यान मेसिन खरिद गर्न ठेक्का
धनगढीः सेती प्रादेशिक अस्पतालले सीटी स्क्यान मेसिन खरिदका लागि ठेक्का सम्झौता गरेको छ।
गत वर्ष विवादित बन्दा कुनै प्रक्रिया अगाडी बढ्न नसकेको सीटी स्क्यान मेसिन खरिदका लागि सेती प्रादेशिक अस्पताल र काठमाडौँको म्याक्स मेडिटेक सिस्टम प्रालीबीच ठेक्का सम्झौता भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले गत कात्र्तिक २५ गते म्याक्स मेडिटेक प्रालीसँग ५ लाख ४९ हजार अमेरिकी डलर अथात् ६ करोड ४६ लाख ८८ हजार ६ सय ७० रुपैयाँमा सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का भएको जानकारी दिए।
उनका अनुसार म्याक्सलाई ५ महिनाभित्र सीटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।
सम्झौताअनुसार आपुर्तिकर्ताले सो बजेटमा १ सय २८ स्लाइसको सीटी स्क्यान मेसिन खरिद गरी अपुर्ति गर्नेछ।
मेसिन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने भौतिक संचरना समेत निर्माण भइरहेको अस्पतालले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले सेती अस्पतालका लागि सीटी स्क्यान मेसिन खरिद गर्न गत वर्ष साढे ८ करोड बजेट विनियोजन गरेको थियो।
तर पर्याप्त समय नभएकाले खरिद प्रक्रिया थाल्न नसकिने भन्दै अस्पताल प्रशासनले सामाजिक विकास मन्त्रालयलाई सो बजेट रकमान्तरका लागि पत्र लेखेपछि विवाद सिर्जना भएको थियो।
अस्पतालले सो बजेटले अन्य अत्यावश्यक उपकरण खरिद गरी अर्को वर्ष सीटी स्क्यान मेसिनका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरेपनि मन्त्रालयले अस्वीकार गरेको थियो।
प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालका लागि सीटी स्क्यान मेसिन अतिआवश्यक उपकरण हो। अहिले सेतीमा सीटी स्क्यान मेसिन नहुँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा सिटी स्क्यान गर्न बाध्य छन्।
सेतीमै सीटी स्क्यान सेवा सुचारु भएमा प्रदेशवासीलाई सहज हुने अपेक्षा गरिएको छ।