सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्द नगरपालिका प्रमुखसहित १८ जनामा कोरोना

२०७७ मंसिर १४, ०८:३३ रासस

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी, नेपाली सेनाका तीन, नेपाल प्रहरीका एक, दुईजना श्रीलङ्काली पर्यटक र दशरथचन्द नगरपालिकाका आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

गोठलापानीको एक होटेलमा रहेका दुई पर्यटकको जाँच गर्दा पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । सङ्क्रमितमध्ये ५५ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना रहेका छन् । 

यस्तै डिलाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा चार, पाटन नगरपालिकामा तीन र सुर्नया तथा पञ्चेश्वर गाउँपालिकामा एक/एक जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको जोखिम बढेको भन्दै दशरथचन्द नगरपालिका क्षेत्रलाई आजदेखि लकडाउन गरिएको छ । नगरकार्यपालिकाको बैठकले मङ्सिर २२ गतेसम्म लकडाउन घोषणा गरेको हो । 

बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका कोरोनाको ‘हटस्पट’ बन्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् । नगरपालिकामा ३६ जना सक्रिय सङ्क्रमित रहेका र एकैदिन १८ जनामा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिए ।

चिसोको समयमा कोरोनाको सङ्क्रमण झन् फैलिने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

कमेन्ट लोड गर्नुस