क्रिकेटरको ‘सपना फाप्ला’ अब कहिले होला साकार
धनगढी : कैलालीको धनगढीस्थित फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रुपमा विकास गर्ने प्रक्रिया अझै पछाडि धकेलिएको छ ।
रंगशालाको लागि आवश्यक साढे ३८ बिघा जग्गा अधिग्रहणको प्रक्रियामै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अल्झिएपछि अन्योलता सिर्जना भएको हो ।
धनगढी उपमहानगरपालिका ३ स्थित सो मैदानलाई आफ्नो मातहत ल्याउन सो मन्त्रालयले कार्य थालेको थियो । यसैबीच मालापोत कार्यालय कैलालीले २०७५ मंसिर १३ गते जमिन प्रशासनको नाममा रहेको भन्दै जानकारी पत्र सामाजिक विकास मन्त्रालयलाई पठाएपछि अन्योलता सिर्जना भएको थियो । जुनकारण जग्गा प्राप्तिको प्रक्रिया थप जटिल बनेको ड्रिम फाप्ला धनगढीका अभियान्ता सुवाश शाही बताउँछन् ।
उनले भने, ‘जमिन कसको नाममा हो ? त्यो जानकारी नभएर काम लम्बिएको छ । नापी कार्यालयले जिल्ला प्रशासनको नाममा जमिन रहेको पत्र सामजिक विकास मन्त्रालयलाई पठाएको थियो । सोही आधारमा हामीले प्रक्रिया अगाडि बढाएका थियौ । तर जमिन प्रति रहेछ । पुनः कागजपत्र सच्याउँदै छौ ।’
धनगढीमा ४० हजार दर्शक अटाउने क्षमतासहित फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया थालिएको थियो ।
गत आर्थिक वर्षमा प्रदेश सरकारले २४ करोड ५० लाख, संघीय सरकारले १२ करोड ६७ लाख र धनगढी उपमहानगरपालिकाले १ करोड बजेट बिनियोजन गरेको थियो । तर चालु आर्थिक वर्षमा भने फाप्ला क्रिकेट मैदानको संरचना निर्माणका लागि ५० लाख मात्र बजेट बिनियोजन गरेको छ । ३ वर्ष पहिले फाप्ला क्रिकेट मैदानलाई प्रदेश मन्त्रीपरिषदले प्रादेशिक गौरवको योजनाको रुपमा विकास गर्ने निर्णय गरेको थियो । तर जमिनको भोगाधिकारको टुंगो नलागेपछि विस्तृत योजना प्रतिवेदन समेत बनाउन सकिएको छैन ।
जिल्ला प्रशासान कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका र डिभिजन वन कार्यालय धनगढीलाई पुनः सामाजिक विकास मन्त्रालयले जमिन प्राप्तिका लागि पत्रचार गरेको जनाइएको छ । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई अपुग भएको कागजपत्र पठाउने तयारी गरिएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र काकीले भने, ‘जमिन प्राप्तिको प्रक्रिया पूरा भएको छैन । हामीले पुनःजमिनको प्राप्तिका लागि जिल्ला, प्रशासन कार्यालय, डिभिजन वन र उपमहानगरपालिकालाई पत्रचार गरेका छौ । उहाँहरुले स्वीकृति दिनुपर्ने हुन्छ । संघीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पूर्ण फाइल पठाउने हो । उहाँहरुले स्वीकृति दिएपछि मैदान निर्माणको काम अगाडि बढ्छ ।’
धनगढीलाई क्रिकेटको शहरको रुपमा विकास गर्न ड्रिम फाप्ला अभियान थालिएको छ । प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) अवधारणा अनुसार अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया थालिए पनि ३ आर्थिक वर्षसम्म जमिन प्राप्तिको कै प्रक्रिया पूरा हुन नसकेको हो । रंगशाला निर्माणमा देखिएको ढिलाइले यहाँका क्रिकेट प्रेमीहरुमा निराशा थपेको छ ।