सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ट्राभल एजेन्सीको मनोमानीका विषयमा प्रशासन बेखबर

२०७७ मंसिर १३, ०८:२७ जनक विष्ट

धनगढीः धनगढीका टुर एण्ड ट्राभल कम्पनीले दुःख दिएको जनगुनासोकाबीच स्थानीय प्रशासन भने उजुरी नआएको भन्दै पन्छीन थालेको छ।

भारत जाने यात्रुहरुलाई सहजै गन्तव्यमा पुगाइदिने भन्दै सीमा नाकाबाट लैजाने ट्राभल कम्पनीले ठगी गर्दै आएका गुनासा बढ्दै जान थालेका छन। 

तर स्थानीय प्रशासन भने बखबर जस्तै देखिएको छ। बरु उजुरी नआएको भन्दै प्रशासन पन्छीन थालेको छ। 

ट्राभल कम्पनी सञ्चालकले भारत पुगेपछि बीच बाटोमै अलपत्र पार्ने गरेको गुनासो नआएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो दाबी गर्छन। 

‘भारत जाने यात्रुबाट बढी भाडा लिएको, टिकट नेपाली भूमिका काटेको जस्ता गुनासाहरु आएका थिए,’ प्रमुख जिल्ला अधिकारी महतोले दिनेश खबरसँग भने, ‘यो विषयलाई संवेदनशिल रुपमा लिएर हामीले ती कार्यमा संलग्नलाई कारवाही गरेका छौँ। ट्राभल एजेन्सीहरुले ठगी गरेको भन्ने कुरा आएका छैनन्। यदी गुनासा आए भने हामी कारवाहीको दायरामा ल्याउँछौँ ।’

विगतमा कैलाली प्रशासनले व्यवस्थापन गर्दै आएको त्रिनगर–गौरीफन्टा नाका अहिले कञ्चनपुरले हेर्दै आएको छ।

सीमा क्षेत्रमा भारतीय बसका लागि नेपाली भूमिमै प्रवेश गरी टिकट काट्ने गरेको पाईएपछि बन्द गरिएको बताउँदै आएको स्थानीय प्रशासनले यात्रुलाई बीच बाटोमै अलपत्र पार्ने लगायतका समस्यामा वेवास्ता गरेको आरोप लागेको छ।

तर त्यसरी दुःख हैरानी दिएको भेटिएमा कारवाहीको दायरामा ल्याईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा बताउँछन्। 

कैलाली प्रहरीले भने टुर एण्ड ट्राभल कम्पनीहरुले दुःख दिने तथा ठगी गर्ने गरेको गुनासो आउने गरेको भएपनि प्रष्ट कानूनी व्यवस्था नहुँदा समस्या हुने गरेको बताउने गरेको छ। 

खासगरी ट्राभल कम्पनी र यात्रुबीच आपसी समझदारीमै भाडा लेनदेन लगायतका सहमती हुने र त्यसको यथेष्ट प्रमाण समेत नहुँदा समस्या हुने गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए। 

तर किटानी जाहेरी प्राप्त भएमा भने कारवाहीको दायरामा ल्याउने उनी बताउँछन् ।  

स्तरीय सेवासुविधा र आरामदायी यात्रासहित गन्तव्य पुगाउने भन्दै सीमा नाकाबाट यात्रुलाई लैजाने टुर एण्ड ट्राभल कम्पनीले बीच बाटोमै अलपत्र छाड्दा सास्ती खेप्नुपरेको यात्रुहरुको गुनासो छ। 

तर ट्राभल कम्पनी सञ्चालकले भारतीय सवारी धनी र चालकको भर पर्दा समस्या हुने गरेको बताउँदै आएका छन।  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस