सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हर्जोग र शेर्पा कक्ष

। फोटो स्रोत ।
२०७७ मंसिर १३, ०६:५१ रासस

गण्डकी : पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा प्रथम हिमाल आरोही मौरिस हर्जोग र कीर्तिमानी आरोही मिङमा शेर्पा कक्ष स्थापना गरिएको छ । 

कक्षमा सन् १९५० मा प्रथम अन्नपूर्ण आरोही मौरिसले आरोहणका अवसरमा खिचेका ३३ तस्वीर तथा कीर्तिमानी आरोही शेर्पाले आरोहणमा प्रयोग गरेका एवम् प्राप्त उपलब्धिका सामग्री प्रदर्शन गरिएको छ । नेपाल पर्वतारोहण सङ्घका पहलमा सङ्कलित तस्वीर र अन्य सामग्री कक्षको शुत्रक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वाँ जेभी लेगरले संयुक्त रुपमा उद्घाटन गरे । 

कार्यक्रममा मन्त्री लम्सालले मौरिसले आजभन्दा ७० वर्षअघि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण सफल आरोहणसँगै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि प्राप्त भएको बताए । प्राकृतिक, सांस्कृतिक एवं साहसिक पदयात्राको प्रचूर सम्भावनायुक्त नेपाललाई मौरिसले विश्वसामु परिचित गराएको बताउँदै उनले उनका परिवारले आरोहणका अवसरमा खिचेका तस्वीर उपलब्ध गराएर थप गुन लगाएको उल्लेख गरे ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण गण्डकी प्रदेशलाई मात्र १४ करोड रुपैयाँभन्दा बढी घाटा भएको बताउँदै उनले सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

गण्डकी प्रदेशअन्तर्गत धौलागिरि हिमालमा आजभन्दा ६० वर्षअघि दुर्घटना भएको स्वीस विमानलाई उद्धार गरेर सङ्ग्रहालयमा प्रदर्शन गर्ने पहल भइरहेको जानकारी दिँदै उनले त्यसका लागि तीन करोडभन्दा बढी लाग्ने अनुमान गरिएको बताए । 

नेपालका लागि फ्रान्सका राजदूत लेगरले फा्रन्सेली  मौरिसले गरेकोे प्रथम अन्नपूर्ण आरोहणले दुई देशबीच कायम दौत्य सम्बन्ध प्रगाढ बनाएको बताए । सङ्ग्रहालयको विकासमा दूतावासबाट सक्दो सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।

“नेपाल पर्वतारोहण सङ्घको अनुरोध एवं दूतावासको पहलमा मौरिसको परिवारबाट उक्त तस्वीर उपलब्ध भएको हो”, राजदूत लेगरले भने, “मौरिस र शेर्पा कक्ष सङ्ग्रहालयको अवलोकनमा आउने पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्नेछ ।” 

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले सरकारले कोरोना भाइरसको महामारीलाई शिक्षाका रुपमा लिएर नेपाल भ्रमण वर्षलाई अघि बढाउनुपर्नेमा जोड दिए । पुर्खाले गरेको योगदानको उच्च कदर गर्दै मौरिस परिवारले अन्नपूर्ण आरोहणका अवसरमा खिचिएका फोटो सङ्ग्रहालयलाई उपलब्ध गराएकामा आभार व्यक्त गर्दै उनले सङ्ग्रहालयमा प्रदर्शनका लागि अन्य सामग्री निरन्तर सङ्कलन गर्दै प्रदर्शन गरिने जानकारी दिए । 

कार्यक्रममा पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी, नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङ, कीर्तिमानी आरोही मिङमा शेर्पालगायतले सङ्ग्रहालयको विकासमा सबै क्षेत्रको साथ र सहयोगको आवश्यकता औँल्याए । त्यसअघि मन्त्री लम्साल र राजदूत लेगरले सङ्ग्रहालयको अवलोकन गरेका थिए ।

कोरोना भाइरसका कारण आठ महिनाअघिदेखि बन्द सङ्ग्रहालय यही मङ्सिर ९ गतेदेखि अवलोकनका लागि खुला गरिएको छ ।
 

कमेन्ट लोड गर्नुस