सुदूर नेपाललाई विश्वसँग जोड्दै

८ महिनादेखि बन्द रहेका धनगढीका विद्यालय खुल्न थाले, विद्यार्थी खुशी

२०७७ मंसिर १२, ०१:३९ नारायण अवस्थी

धनगढी : कोराना कहरपछि झण्डै ८ महिनादेखि बन्द रहेका कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालय खुल्ने क्रम सुरु भएको छ ।

धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर पठनपाठन सञ्चालन गर्ने अनुमति दिएपछि विद्यालय खुल्ने क्रम सुरु भएको हो ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालनमा कडाइ गरिएको विद्यालय सञ्चालकहरुले बताएका छन् ।

धनगढीको ऐश्वर्य विद्या निकेतनका प्राचार्य प्रेमनीधि ओझाले मंसिर १४ गतेबाट चरणवद्ध रुपमा विद्यालयमा पठनपाठन सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । ओझाले मंसिर १४ गतेदेखि कक्षा ९ र १० को पढाइ सञ्चालन गर्ने, त्यसको १४ दिनपछि आधारभूत तहको र त्यसपछि आउने नतिजाको आधारमा बाँकी कक्षा सञ्चालन गर्ने योजना सुनाए ।

सञ्चालनको तयारीमा रहेका विद्यालयले समेत संक्रमणको जोखिम र स्वास्थ्य मापदण्डको पालना गर्ने गराउने सन्दर्भमा योजना बनाइरहेको बताएका छन् । 

कोरोना भाइरसको महामारीको कारण झण्डै ८ महिना बन्द रहेका धनगढीमा विद्यालयहरु धनगढी उपमहानगपालिकाको परिपत्रपछि खुल्न थालेका हुन् । उपमहानगरपालिकाले मंसिर ७ गते जनस्वास्थ्य एवम सुरक्षा सम्बन्धी मापदण्ड तथा निर्देशनको परिधिभित्र रही विद्यालयहरुले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा संचालन गर्न सक्ने भनेर परिपत्र गरेपछि विद्यालय खुल्ने बाटो खुलेको हो ।

विद्यालय सञ्चालन गर्दा भने स्वास्थ्य सुरक्षाका बिभिन्न ७ वटा शर्त पालना गरेको हुनुपर्ने जनाइएको छ । 

उपमहानगरपालिकाको शिक्षा यूवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत महादेव जोशीले दिनेशखबरलाई भने, ‘सरकारले तयार गरेको विद्यालय सञ्चालनको कार्य ढाँचा २०७७ अनुसार धानगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालयमा पठनपाठन गर्न परिपत्र गरेको हो । पठनपाठन सञ्चालन गर्न विद्यालयहरुले मापदण्डको अधिनमा रहेर आचारसंहिता बनाउनु पर्ने र सोको जानकारी स्थानीय तहलाई दिनु पर्छ । विभिन्न ७ वटा विकल्प मध्ये कुनै १ विकल्पको अधिनमा रहेर विद्यालयहरुले पठनपाठन गर्न सक्छन् ।’

धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा पनि विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको जनाइएको छ । विद्यालयमा पठनपाठन चरणबद्ध रुपमा भइरहेको प्राचार्य हरिशकुमार ओझा जानकारी दिए ।

विद्यालयहरुले अभिभावकहरुको अनुरोधमा सरकारको स्वास्थ्य सुरक्षाको मापदण्डको अधिनमा रहेर विद्यालय संचान गरेको बताएका छन् । भौतिक दूरी, शरीरको तापक्रम परीक्षण, मास्क र स्यानिटाइजरको प्रयोग गरेर विद्यालय सुचारु गरेको कैलाली मोडेल स्कुलका प्राचार्य तपेन्द्रबहादुर सिंहले बताए ।

धनगढी उपमहानगरभित्र सामुदायिक र निजी गरी झण्डै २ सय विद्यालय रहेका छन् । लामो समयपछि विद्यालय जान पाएपछि विद्यार्थीहरु खुशी भएका छन् ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस