सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको अधुरो काम : आईसीयू र भेन्टिलेटर पुग्यो, पुगेनन् जनशक्ति

२०७७ मंसिर १२, ०७:५२ नारायण अवस्थी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालहरुलाई आईसीयू र भेन्टिलेटर खरिद गरी हस्तान्तरण गरेपनि सञ्चालनमा ढिलाइ भएको छ । 

प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमार्फत खरिद गरिएका गरी विभिन्न अस्पताललाई हस्तान्तरण गरिएका उपकरण सञ्चालनमा ढिलाइ भएको हो ।

प्रदेशस्थित विभिन्न अस्पतालहरुले आईसीयू जडान हुने क्रममा रहेको भएपनि दक्ष जनशक्तिको अभावले सेवा सञ्चालनमा समस्या हुने बताएका छन् ।

प्रदेश सरकारले गत वर्षको चैत १५ गते कोरोना भाइरसको संक्रमितको उपचारका लागि आवश्यक पर्ने २० वटा भेन्टीलेटर खरिद गर्ने निर्णय गरेको थियो । निर्णय गरेको निकैपछि मात्र प्रदेश सरकारले भेन्टिलेटर खरिद गरेको थियो ।

तर अस्पतालमा भौतिक संरचना र दक्ष जनशक्तिको व्यवस्थापन नहुँदा उपकरण जडान र सञ्चालनमा समस्या देखिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमिक्त प्रमुख डाक्टर निरज अर्यालले दिनेशखबरसँग भने, ‘प्रदेश सरकारले ७ पहाडी जिल्लाका अस्पतालसहित सेती, टीकापुर र महाकाली अस्पतालका लागि २÷२ थान भेन्टिलेटर दिने हो । बाँकी व्यवस्थापन भने सम्बन्धित अस्पतालहरुले गर्नु पर्छ । भौतिक पूर्वाधारको अभावले अस्पतालहरुले उपकरण जडान गर्नमा ढिलाइ भएको हो ।’ 

सञ्चालनमा तराईको भन्दा पहाडी जिल्लाका अस्पतालमा समस्या देखिएको हो । जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुपचन्द्र विश्वकर्माले जनशक्ति अभावले केही दिन भएका जनशक्तिलाई तालिम दिएरै उपकरण सञ्चालनमा ल्याउने अवस्था देखिन्छ ।’

जिल्ला अस्पताल अछाममा सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीद्वारा तालिम दिइएको छ । सो अस्पतालमा भेन्टिलेटर जडानको काम भइरहेको जानकारी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालले गराए ।

पहाडी जिल्लामा उपकरण मात्रै पठाएको प्रदेश सरकारले जनशक्ति भने सम्बन्धित अस्पतालले नै व्यवस्थापन गर्नुपर्छ भन्दै पन्छिएपछि सेवाको प्रभावकारीता नहुने सम्भावना देखिएको छ । केही दिनको लागि मौजुदा जनशक्तिबाट काम सुरु गरेपनि जनशक्ति थप नगरे सेवाको गुणस्तरमा सुधार नहुने चिकित्सको भनाइ छ ।

टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राई भन्छन्, ‘मेसिन आयो तर हामी संग जनशक्ति छैन ? जुन कारण सञ्चालनमा आउन नसकेको हो ।’ 

सम्बन्धित समाचार

सुदूरपश्चिममा करोडौंका भेन्टिलेटर थन्कियो, अस्पताल सञ्चालक भन्छन् : मेसिनले मात्रै हुँदैन, जनशक्ति देऊ

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस