सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको विकट अन्द्राडी गाउँमा पहिलोपटक स्वास्थ्य सेवा

२०७७ मंसिर १०, ०४:३५ प्रकाश सिंह

बाजुरा: बाजुराको गौमुल गाउँपालिका–१ मा रहेको अन्द्राडी गाउँ पहिलोपटक स्वास्थ्य सेवाको पहुँचमा पुगेको छ।  

सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा दिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए। गाउँपालिकाले स्वास्थ्य चौकीसँगै अहेब, अनमी, कार्यालय सहयोगी र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरेको उनले बताए। 

यस्तै छिट्टै प्रसुति सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। 

४४ परिवार बसोबास गर्दै आएको अन्द्राडी गाउँ राज्यका हरेक सेवा सुविधाबाट बञ्चित हुँदै आएको छ।  

बाजुराको दुर्गम गाउँका रुपमा रहेको यो गाँउका बासिन्दाले यसअघि स्वास्थ्य सेवा लिन एक दिन लगाएर दहकोट स्वास्थ्य चौकी धाउनुपर्ने बाध्यता रहेको थियो। अब भने गाउँमै औषधि तथा उपचार पाउँदा खुसी भएको स्थानीय पदमकला बोहोराले बताइन। 

बाजुराका दुर्गम गाँउ गुम्बा र लाम्पाटा अझै स्वास्थ्य सेवाबाट बिमुख रहेका छन्।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस