सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एकैदिन पटक-पटक बढ्छ तरकारीको मुल्य

२०७७ मंसिर ९, ०७:१९ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा: डडेल्धुरा बजारमा तरकारीको भाउ आकाशिनु सामान्य जस्तै भइसकेको छ।  

यहाँको बजारमा गाउँबाट फलफुल तथा तरकारी आउने गरेका छन्। तर व्यापारीहरुले अनेक बहानामा तरकारीको मूल्य आफुखुशी तोक्ने गर्छन्। जसका कारण किसानले श्रमको मुल्य पाउन सकेका छैनन् भने उपभोक्ता महँगो तरकारी खान बाध्य छन्।

उपभोक्ताहरुका अनुसार तरकारीको भाऊ एकैदिनमा फरक–फरक हुने गरेको छ। ‘बिहान एउटा दाममा किनेको तरकारी दिउँसो अर्कै र बेलुका झन अर्कै हुने गरेको छ’ एक उपभोक्ताले भने।  

तर व्यापारीहरु भने तरकारीको मुल्य आफुहरुले किन्दा नै एकैदिनमा फरक परेकाले महंगो हुने गरेको बताउँछन्। बजारमा तरकारीमा एकात्मक प्रणाली भए यो समस्या नआउने थोक बिक्रेता टेकराज पनेरुले बताए। 

थोक बिक्रेता बजारबाट लगिएका तरकारी खुद्रा पसलमा पुगेपछि झनै महंगिन्छन्। थोकबिक्रेता बजारमा किसानबाट ३५ रुपैयामा किनेको टनेल गोलभेडाको मुल्य खुद्रा बजारमा पुग्दा ६० रुपैया भन्दा बढी हुने गरेको छ।

अस्वभाविक रुपमा तरकारीको मुल्य बढ्नुलाई यहाँका उपभोक्ताले बिचौलीयाको बिगबिगी भनेका छन्। उपभोक्ता अनुसार २÷३  दिन यता अधिकांश तरकारीको मुल्य बढेको छ।

एकदिन अघि ३५ रुपैयाँ प्रति किलोका दरले पाइने गोलभेडा अहिले ८० देखि १०० रुपैयाँ पुगेकोे छ। यस्तै करेला २५ रुपैयाँबाट ६०, रातो आलु ४५ रुपैयाँबाट ८० पुगेको छ । यस्तै काउली २५ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको उपभोक्ता सत्यराज जोशीले बताए। 

यसरी मुल्य बढ्नुमा सरकारी निकायको दोष रहेको जानकारहरु बताउँछन्। बजारलाई बेलगाम छोड्दा उपभोक्ताको भान्सा महंगीएको उनीहरु बताउँछन् । 

बिचौलीया नियन्त्रण गर्नसके कृषकले तरकारीको उचित मुल्य पाउने र उपभोक्ताले सर्वसुलभ मुल्यमा तरकारी उपभोग गर्न पाउने स्थानीय पुष्कर सिहले बताए।

 ‘बजारमा सब्जीमन्डी भए मुल्यमा एकरुपता आउने थियो । तर अहिले बजारमा कडिकडाउ नहुनाले कतै सरकारी अधिकारी नै बिचौलियाका मतियार बनेका त छैनन् भन्ने संसयलाई बलियो बनाइदिएको छ’ उनले भने।

कमेन्ट लोड गर्नुस