आईसीसी एशोसिएट प्लेयर अवार्डको मनोनयनमा पारस
काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दी डिकेट’ अवार्डको मनोनयनमा परेका छन्।
मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन्।
मनोनयनमा स्कटल्याण्डका ३ खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन्।
आईसीसीले अवार्डका लागि भोटिङ खुल्ला गरिसकेको छ। अवार्डमा आइसिसीको वेबसाइटमार्फत मनोनितहरुलाई भोट गर्न सकिने छ।
आईसीसीले भोटमार्फत मनोनित छ जनाबाट दशकको उत्कृष्ट क्रिकेट खेलाडी छनोट गर्नेछ।
सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका थिए। पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलोपटक टी–२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो।
२८ असोज २०७६ मा उनले कप्तानी छाडेका थिए। तर, पनि खड्काले राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन्।