सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा हाते ट्रयाक्टर प्रयोगमा वृद्धि

२०७७ मंसिर ६, ०१:०७ रासस

डोटी: पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित हुन थालेका छन् । उनीहरुले हाते ट्रयाक्टर र थ्रेसरको प्रयोग गर्न थालेका हुन् । ती औजारको प्रयोगले समय र श्रम दुवै कम हुने भएकाले उनीहरु ती औजारप्रति बढी आकर्षित हुने गरेका हुन् ।

गोरुले जोत्नुभन्दा हाते ट्रयाक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने दिपायल पिपल्लाकी देबकी कठायत खड्काले बताए । “महिलाले पनि सजिलै जोत्न सक्ने मिल्ने भएका कारण जिल्लामा हाते ट्र्याक्टरको माग बढ्दै गएको हो,” उनले भने, “पछिल्लो समय मैले पनि हाते ट्र्याक्टरले खेत जोत्न थालेकी छु, राम्रै भएको छ ।” यहाँका अधिकांश किसानले गोरुले खेत जोत्नुको सट्टा हाते ट्रयाक्टरले खेत जोत्न थालेका छन् । यसका साथै जिल्लामा धान चुट्न तथा गहुँ काट्नका लागि थ्रेसर औजारको प्रयोग पनि बढ्दै गएको छ । 

गोरुले एक दिनमा जोत्ने खेत हाते ट्रयाक्टरले एक/दुई घण्टामा सक्ने भएकाले समय र श्रमसमेतको बचत हुने सिलगढी नगरपालिका–३ बाँफी गाउँका हिक्मतबहादुर साउदले जानकारी दिए । उनले भने, “गोरु नलाग्ने ठाउँसमेतमा हाते ट्र्याक्टर लैजान र जोत्न सकिने भएकाले यसको राम्रो माग छ, छिटोछरितो काम गर्न निकै उपयोगी साधन छ हाते ट्र्याक्टर ।” 

पछिल्लो समय जिल्लामा हाते ट्रयाक्टर तथा थ्रेसर औजार खरीद गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताए । उनले भने, “कृषि यन्त्रको माग बढेपछि कतिपय किसानलाई हामीले पनि अनुदानमा कृषि यन्त्र दिन थालेका छौँ, कतिपयले त आफैँ पनि किनेर प्रयोग गर्ने गरेको पाइएको छ ।” 

निर्देशनालयले आधुनिक उपकरणमा अनुदान दिँदै आएको र जिल्लाभर १०० भन्दा बढी किसानले अनुदानमा विभिन्न कृषियन्त्र पाएको जनाएको छ । शहर बजार तथा समथल क्षेत्रमा भन्दा पनि यहाँका ग्रामीण क्षेत्रका खेतमा कृषि औजारको बढी प्रयोग हुने गरेको किसान बताउँछन् ।

कमेन्ट लोड गर्नुस