दार्चुलाका विद्यालय खुले

दार्चुला: सरकारले कोरोना भाइरस(कोभिड–१९) को असर नभएको ठाउँमा विद्यालय खोल्न सम्बन्धित स्थानीय तहलाई जिम्मा दिएपछि दार्चुलाका विद्यालय खुलेका छन् । जिल्लाका स्थानीय तहले सामाजिक दुरी कायम गरेर बन्द रहेका विद्यालय पुनः खुलाउन कार्यविधी जारी गरेसँगै विद्यालयहरु खुलेका हुन ।
कोरोना भाइरसका कारण विद्यालय बन्द भएपछि असारदेखि सरकारले वैकल्पिक शिक्षण सिकाइ सुरु गरेको थियो । सरकारले सम्बन्धित विद्यालयहरुको निरीक्षण अनुगमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।

जिल्लाको महाकाली नगरपालिकाले बुधबारदेखि नगरपालिकाका सबै विद्यालयहरु खुला गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख ईश्वरी ठगुन्नाले जानकारी दिए । सामाजिक दुरी कायम गरी नगरपालिका भित्रका ४८ वटा सामुदायिक तथा ८ निजी विद्यालयमा पठनपाठन शुरु गरिएको शिक्षा संयोजक ठगुन्नाले बताए ।

यस्तै जिल्लाको दुहुँ गाउँपालिकाले पनि बुधबारबाट सबै विद्यालयहरु खुला गरेको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए । स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्णरुपमा पालना गदै गाउँपालिकाभरीका विद्यालयहरु खुला गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको अपि हिमाल गाउँपालिका २३ वटै विद्यालयहरु बुधबारदेखि खुला गरिएको गाउँपालिका प्रवक्त रबिन्द्रसिह बोहराले बताए । मार्मा गाउँपालिकाले पनि विद्यालयहरु सुचारु गरेको छ । गाउँपालिकाका विद्यालयहरु दशैं अगावैबाट सुचारु भएका छन् । गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा त्रैमासिक परिक्षा नगरी अर्धवार्षिक परीक्षा गर्ने गरी पठनपाठन शुरु गरिएको अपिपथ प्रदर्शक मावि शेरीका शिक्षक विरेन्द्र महरले जानकारी दिए ।

व्यासँ गाउँपालिकामा पनि विद्यालयहरु एकदुई दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखरचन्द्र ओझाले बताए ।
मालिकार्जुन गाउँपालिकामा विद्यालयहरु तत्काल सञ्चालनमा आउन समय लाग्ने बताइएको छ । उता शैल्यशिखर नगरपालिकामा पनि अधिकाशं विद्यालयहरु सञ्चालनमा आएको शैल्यशिखर नगरपालिकाले जनाएको छ ।
लेकम गाउँपालिकामा पनि विद्यालयहरु सञ्चालनमा आएका छन् । जिल्लाको नौगाड गाउँपालिकामा पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर विद्यालयहरु सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिए ।