सुदूर नेपाललाई विश्वसँग जोड्दै

२३ महिनादेखि सहजपुर–बोगटान सडकको काम अलपत्र

रुख कटानीको आदेश आएन

२०७७ मंसिर ४, ०७:२८ कमल सावद

धनगढीः रुख कटानीको आदेश नपाउँदा सहजपुर–बोगटान सडकको ४० किलोमिटर खण्डको काम अगाडी बढ्न सकेको छैन् ।

२३ महिना पहिले कालोपत्रेको ठेक्का सम्झौता भएको सहजपुर–बोगटान सडकको ४० किलोमिटर सडक खण्डमा परेका रुख कटानीको आदेश नपाउँदा निर्माण अलपत्र परेको हो ।  

२०७५ को पुष ५ गते निर्माण ५० किलोमिटरको सहजपुर बोगटान सडक कालोपत्रे गर्ने सम्झौता भएपनि ४० किलोमिटर खण्डमा पर्ने ३ हजार ३ सय रुख कटानीका आदेश प्राप्त नहुँदा काम अलपत्र परेको योजना कार्यालयले जनाएको छ ।

सहजपुर–बोगटान सडक योजना कार्यालयका प्रमुख उज्वल श्रेष्ठले रुख कटानी आदेश नपाएकै कारण सडकको काम अगाडी बढ्न नसकेको बताए ।

उनका अनुसार कुनै पनि अवरोध नरहेको १० किलोमिटर मध्ये ५ किलोमिटर खण्डमा कालोपत्रेको तयारी थालिएको छ तर ४० किलोमिटर खण्डको काम ठप्प छ । पीआरएल–कुमार जेभीसंग २ अर्ब २५ करोडमा ५० किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का पाएको छ ।

३० महिनाको समय अवधि तोकिएकोेमा पुनः छ महिना म्याद थप गरिएको थियो । सडक निर्माणको १२ महिना समेत बाँकी नरहेका बेला समेत रुख कटानीको आदेश नआएको हो । सडकको २७ किलोमिटर क्षेत्रमा वन पर्ने भएपनि ४० किलोमिटर सडक क्षेत्रको काम प्रभावित भएको निर्माण कम्पनीका कन्ट्रयाक म्यानेजर ईस्वर वस्नेतले बताए ।

एक महिना भित्र सडकमा पर्ने रुख कटानीका लागि आदेश नपाएमा काम नगर्ने निर्माण कम्पनीले चेतावनी दिएको छ । उनले रुख कटानीको आदेश प्राप्त नभए निर्माण सामाग्री र कामदारलाई फिर्ता लैजाने बताए ।  

सहजपुरदेखि विपीनगरसम्मको क्षेत्रमा ५ सय र विपी नगरदेखि अत्तरकाँडा सम्म २ हजार ८ सय रुख छन् । २०७५ फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक कालोपत्रेको शिलान्यास गरेका थिए ।

सडक निर्माणको ठेक्का भएको २३ महिनामा ३१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।  २०४४ सालमा निर्माणको सुरु भएको सहजपुर–बोगटान सडकको निर्माणको ३३ वर्ष हुँदा समेत कामले गति लिन नसकेको हो ।

लामो समयदेखि अनिर्णयको बन्दी बनेको उक्त सडकमा रुखको अवरोध हटाउन ढिलाई हुँदा निर्माण थप पछाडी धकेलिने देखिएको छ  । 
  

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस