बैतडी दुर्घटनाः तिहारमा माइत आएकी जानकीको बयान, झोला छामछुम गर्दागर्दै बसले पिल्लर ढलायो
बैतडी : बिहीबार दार्चुलाको गन्नाबाट दिउँसो १२ बजे बझाङको चैनपुर माइत हिडेकी दार्चुलाको मार्मा गाउँपालिकाकी जानकी सिंहले टिकट काटिन् । बैतडीको खोडपेको लागि । छोरी सिमरन २ वर्षीया बालिका भएकाले १ जनाको मात्रै भाडा लिने भनेर छोरीकै नामबाट टिकट काटेकी थिइन उनले ।
गन्नाबाट छुट्ने अन्तिम गाडी भएकाले बिहीबार खोडपेसम्म आउने र खोडपे बसेर शुक्रबार बिहान बझाङको गाडीमा जाने योजना रहेको उनले बताइन् ।
जानकीले भनिन् ‘पाटनबाट उकालो चड्दा बेलाबेला गाडी रोकिए जस्तो भइरहेको थियो । साढे १० बजेतिर बसको उज्यालोको प्रकाश “खोडपे १ कि.मि.” लेखिएको पिल्लरमा प¥यो । खोडपे पुगेको सोचेर झोला छामछुम गर्न नपाउदै त्यहि पिल्लरलाई भासेर गाडी हावामा उडे जस्तोभयो ।”
उनले अघि सुनाइन, ‘कोलाहल सुरु भयो, गाडीबाट कसरी बाहिर निस्के थाहै भएन । छोरीको मात्रै याद आयो र बचाउ बचाउ भन्नेको आवाजको बीचमा छोरीको रोएको सुनेपछि बाँचियो भन्ने महसुश भयो । ’ उनले थपिन ‘त्यसपछि छोरीलाई च्यापेर बसेकी थिएँ । केही छिनपछि बजारका मान्छे र प्रहरी आएर उद्धार गरे ।’
उनको पाखुरामा चोट लागेको छ भने छोरीको टाउकोमा सामान्य चोट लागेको छ । अहिले उनीहरु दुवै अस्पतालबाट निको भएर माइतीघर फर्किएका छन् ।
दार्चुलाबाट महेन्द्रनगरतर्फ जादै गरेको पवनदुत यातायातको बस राति साढे १० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
सानो घुम्तीबाट बस ६ सय मिटर जति तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण प्रसाद अधिकारीले बताए ।
अहिले प्रहरीले उपचारपछि डिस्चार्ज भएका बसका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्कीलाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेको छ ।
बसभित्र रहेका अर्का चालकले खोले खोड्पे दुर्घटनाको रहस्यः दुर्घटनाअघि पनि झन्डै खसेको थियो गाडी !