१ करोडको लागतमा धनगढीमा सुविधा सम्पन्न चौलानी मिनी मार्ट सञ्चालनमा
धनगढी : धनगढीको चौराहामा १ करोडको लागतमा चौलानी मिनी मार्ट सञ्चालनमा आएको छ ।
चौलानी ग्रुप अफ कम्पनीजले दीपावलीको शुभ अवसर पारेर शनिबारदेखि सो मिनी मार्ट सञ्चालनमा ल्याएको हो ।
धनगढीको चौराहा क्षेत्रका ग्राहकको सुविधा र सहजताका लागि सञ्चालनमा ल्याएको मिनी मार्ट एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले उद्घाटन गरेका थिए ।
मेयर वडले ग्राहकहरुको माग र सुविधालाई मध्यनजर गर्दै सुदूर पश्चिममा पहिलो डिपार्टमेण्टल स्टोर सञ्चालन गरेर चौलानी ग्रुप अफ कम्पनीजले एकै छानामुनी सबै सेवा सुबिधा प्रदान गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
चौलानी ग्रुप अफ कम्पनीजले डिपार्टमेण्टल स्टोरसंगै, निको रेष्टुरेण्ट, चौलानी पुस्तक भण्डार, स्वीमीङ पुल, रेडमड कफि सप सञ्चालन गरिरहेको छ ।
चौलानी ग्रुप अफ कम्पनीजका अध्यक्ष मानसिंह साउँदले तिहारपछि धनगढीको मोती चौकमा दोस्रो मिनी मार्ट र चौलानी डिपार्टमेण्टल स्टोरको परिसरभित्र साउना स्टिम, जुम्बासहितको फिटनेश सेन्टर पनि संचालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
उनले डिपार्टमेण्टल परिसरभित्र कन्फ्रेस हल र पिज्जा स्टेसन पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।