सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर घटनाबारे आधिकारिक धारणा बनाउनुपर्ने माग राख्दै थरुहट मोर्चाद्वारा ज्ञापन

२०७७ कार्तिक २६, ०६:१४ खबर संवाददाता

धनगढी : थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीले जिल्लाका सबै राजनीतिक दललाई ३ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएको छ ।

मोर्चा कैलालीका संयोजक माधव थारु नेतृत्वको टोलीले बुधबार कैलालीका सबै राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको हो । २०७२ भदौ ७ गते घटेको टीकापुर घटनाबारे यहाँका राजनीतिक दलले आधिकारिक धारणा बनाउनुपर्ने, घटनालाई राजनीतिक घटनाको रुपमा सम्बोधन गर्नुपर्ने र २०७२ भदौ ८ गते थारु समुदायको घर, पसल र एफएममा आगजनि गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै माग राख्दै ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलाली, नेपाली काँग्रेस कैलाली, जनता समाजवादी पार्टी नेपाल र साझा पार्टी नेपाल, राप्रपा र नेपाल लोकतान्त्रिक पार्टीलाई ज्ञापनपत्र बुझाएको मोर्चा कैलालीका संयोजक माधव थारुले जानकारी दिए । यसैबीच ज्ञापनपत्र बुझ्दै नेकपा कैलालीका कार्यालय सचिव रणबहादुर चन्दले टीकापुर घटना आफैमा नराम्रो भएपनि घटनालाई राजनीतिक ढंगले सुल्झाउनुपर्ने बताए ।

त्यस्तै, नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनालाई राजनीतिक तवरले सुल्झाउनु पर्नेमा जोड दिए । सभापति शाहले भने, ‘नेपाली काँग्रेस २०७३ सालमा जिल्ला कमितिको बैठकबसी टीकापुर घटना राजनीतिक घटना रहेकोले राजनीतिक तवरले सुल्झाउनु पर्ने निर्णय गरेको थियो, त्यसपछि केही पहल पनि अगाडी बढेको थियो ।’

भदौ ८ गते टीकापुरमा भएको थारुहुरुहको घर, पसल, व्यापार, एफएममा आगजानी क्षति पुर्तिका लागि पहल भएको पनि सभापति शाहले बताए । गत बर्ष पनि टीकापुरमा मोर्चाद्वारा आयोजित कार्यक्रममा पार्टीको झबही बैठकले पानीको व्यवस्थापन गर्ने निर्णय गरेको उनले बताए । सांसद रेशम चौधरीको विषयमा पार्टी सम्वेदनशील रहेको भन्दै उनले टीकापुर घटनाको छिटै नै टुंगो लगाउनु पर्ने पार्टीको धारणा रहेको बताए ।

कमेन्ट लोड गर्नुस