सुदूर नेपाललाई विश्वसँग जोड्दै

वनदेवीमा कलाकारहरुको डिया डेवारी मैगर मिलन : कलाकार समाजका ऐना हुन्

२०७७ कार्तिक २६, ०५:१२ खबर संवाददाता

हसुलिया : कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले कलाकार समाजको ऐना रहेको बताएका छन् । 

कैलारी गाउँपालिका–२ वनदेवी मन्दिर परिसरमा बुधबार आयोजित ‘डिया डेवारी मैगर मिलन कार्यक्रम’ मा प्रमुख अतिथि रहेका उनले समाजमा भएका विसङ्गति, विकृतिलाई उजागर गर्ने कार्य कलाकारले गरिरहेका उल्लेख गरे । अध्यक्ष चौधरीले कलालाई पहिचानको रुपमा अगाडि बढाउनुपर्ने बताए ।  ‘हामीले हाम्रो पहिचानलाई भुल्नु हुन्न’, सीएस फिल्म्स् धनगढीद्वारा आयोजित कार्यक्रममा उनले भने–‘हाम्रो भाषा के हो, हामी को हौं, त्यसलाई बुझ्न आवश्यक छ ।’ 

थारु समुदायको कला, संस्कृति अझै पछाडि रहेको उल्लेख गर्दै उनले अब फड्को माड्ने विश्वास व्यक्त गरे । सुदूरपश्चिम कलामा धनी धेरै रहे पनि कलाको पहिचान हुन नसकेको भन्दै उनले कला, संस्कृति बचाउनु सबैको धर्म रहेको बताए । कार्यक्रममा थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले थारु समुदाय कलाकार र कलाको हब रहेको बताए । उनले थारु गीतसंगीतको लागि कलाकारहरु सदैव तयार रहेको बताए । 

थारु टेलिभिजनका सञ्चालक पोखम चौधरीले थारु कलाकार प्रविधि अनुरुप अगाडि बढ्न आवश्यक रहेको औंल्याए । सो कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, प्रवक्ता कमलप्रसाद चौधरी, नेपाली काँग्रेसका नेता राजसमझ चौधरी, थारु कलाकार तथा निर्देशक चन्द्र चौधरी चाँद, कलाकार अम्बीकाप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सीएस फिल्म्स्का सतिश सिन्हाले सीएस सिने अवार्ड २०७७ आयोजना गर्ने जानकारी दिए । उनले कलाकार र कलाक्षेत्रसंग सम्बन्धित सबैका लागि अवार्ड आयोजना हुने उल्लेख गरे । सोही कार्यक्रममा काँग्रेस नेता चौधरीले बसेरा चलचित्रका लागि ३० हजार र सीएस सिने अवार्डका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रमको सञ्चालन गायक राजु चौधरीले गरेका थिए ।

कमेन्ट लोड गर्नुस