सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा झण्डै ८० लाखको तस्करीको सामान बरामद

तस्करी नियन्त्रणमा कञ्चनपुर प्रहरी अगाडी

२०७७ कार्तिक २५, ०२:१९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा प्रहरीले करिब ४ महिनाको अवधीमा झण्डै ८० लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट चालु वर्षको साउनदेखि कार्तिकको २० गते सम्म ७९ लाख ८५ हजार बराबरको चोरी तस्करीको सामान बरामद गरिएको  प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले चोरी तस्करी नियन्त्रण अप्रेसन अन्तरगत ४ वटै जिल्लाबाट साउनदेखि अहिले सम्म ७९ लाख ८५ हजार बराबरको सामान बरामद गरिएको दिनेश खबरलाई बताए ।

प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सिहका अनुसार यो अवधीमा सबैभन्दा धेरै कञ्चनपुर प्रहरीले अवैध सामान बरामद गरेको छ । कञ्चनपुर प्रहरीले कुल मध्ये आधा भन्दा बढि हुने ४९ लाख ३१ हजारको अवैध सामान बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार दाखिला गरेको उनले जानकारी दिए ।

साउनमा मात्र कञ्चनपुर प्रहरीले २४ लाख ८४ हजारको अवैध सामान बरामद गरेको छ भने भदौँमा ५ लाख १७ हजार र असोजमा ६ लाख ६६ हजारको सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

कात्तिक १ देखि २० गते सम्म मात्र १२ लाख ६२ हजारको अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको छ । यो अवधीमा कैलाली प्रहरीले भने २६ लाख २ हजारको सामान बरामद गरेको छ ।

प्रदेश प्रहरीको तथ्यांक अनुसार कैलालीमा साउनमा ३ लाख ७८ हजार, भदौमा १६ लाख २२ हजार, असोजमा ४ लाख ४७ हजार र कार्तिकमा १५ लाख ३ हजारको सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 दार्चुला प्रहरीले २ लाख ५५ हजार र बैतडी प्रहरीले १ लाख ९७ हजारको अवैध सामान बरामद गरेको तथ्यांक छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सिहले चाडपर्वका बेला सीमानाकामा चोरी तस्करी बढ्न सक्ने कुरालाई ध्यानमा राखेर निगरानी बढाइएको बताए ।

उनका अनुसार भारतसँग सीमा जोडिएका जिल्लामा प्रहरीले गस्ती तथा पेट्रोलिङ बढाएको छ । 
 
 

कमेन्ट लोड गर्नुस