दार्चुलाको बलाँचमा सडकले कुलो भत्किँदा बाझै रह्रयो खेत

दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका–१ को बलाँच थाला हुँदै तौकी जोड्ने गरी निर्माण भइरहेको सडकले कुलो भत्काएको छ । ३ वर्षदेखि निर्माण शुरु भएको सडकले किसानको खेतमा पानी ल्याउन बनाएको कुलो भत्काएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको सो सडकले कुलो भत्काएपछि जोगेउडाका अधिकांश खेतमा पानी नआउँदा खेत बाँझै भएको छ । ‘न आकाशबाट पानी आउँछ, न खोलाबाट ल्याएको कुलोमा पानी नै । गहुँ लगाउने समयमा पानी नआउँदा झण्डै जोगेउडाका १० परिवारको खेत बाँझैछ’ स्थानीय पशुपति नाथले भने ।

ठेकेदारले सडक निर्माणपछि कुलो नबनाइदिदा खेती गर्न सकिएको छैन् । जोगेउडा क्षेत्रमा घट्टेखोलाबाट कुलो बनाएर गहुँ लगाइने गरेको थियो । गहुँ उत्पादन राम्रो हुने खेतमा पानी नै नभएपछि गहुँ छर्न नसकिएको नाथले बताए । ‘विगतमा आकाशे पानीको भरमा पनि खेती गरिन्थ्यो’ उनले भने ‘तर यो पटक आकाशे पानी परेकै छैन् । पानी नहुँदा गहुँ छर्न सकिएको छैन् ।’

स्थानीय अशोक नाथ घट्टे खोलाबाट ल्याएको दुई वटै कुलो भत्काएपनि ठेकेदारले नबनाइदिदा समस्या भएको उनी बताउँछन् । उनले भने, ‘जोगेउडा बस्तीमा आउने खानेपानीका पानीका पाइपसमेत टुटफुट हुँदा समस्या छ ।’

‘हामीले खेतमा आउने कुलो र खानेपानी बनाउन वडा सरकारलाई समेत आग्रह गर्दै आएका छौ । पटक पटक आग्रह गरेपनि वडाले ठेकेदारलाई बनाइ देउ भन्ने आश्वासन दिएको छ’ उनले सुनाए । सडकले विकास गरेतापनि किसानको खेतमा पानी बन्द हुँदा किसान मर्कामा परेको उनले बताए ।

शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरत खडायत भने किसानको खेतमा आउने कुलो सडक खन्ने क्रममा ठेकेदारले भत्काएको बताएका छन् । ‘सडक निर्माणको क्रममा कुलो भत्किएपछि ठेकेदारले बनाउनुपर्ने हो’ उनले भने, ‘तर ठेकदारसँग सम्पर्क हुन सकेको छैन् ।’
कुलोमा पानी नआउँदा किसानलाई गहुँ लगाउन समस्या भएको उनले बताए । ‘सडक निर्माणाधीन छ, अझैपनि जनताको खेतमा आउने कुलो निर्माणको लागि ठेकेदारलाई भन्छौ, उनले भने ।