अश्लील अडियो काण्डमा मुछिएपछि कैलालीका २ जनप्रतिनिधि निस्कासित
धनगढी: अश्लील अडियो काण्डमा मुछिएपछि कैलाली जिल्लाका २ जना जनप्रतिनिधिलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको छ ।
जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पदम धामी र दलित महिला वडा सदस्य बिर्मा नेपालीबीचको अश्लील अडियो बाहिरिएपछि उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको हो ।
नेकपाबाट निर्वाचित उनीहरुलाई वडा कमिटीको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासित गरिएको नेकपा चुरे गाउँपालिका कमिटीका अध्यक्ष दान महराले बताए । उनीहरुलाई पार्टीबाट निस्कासित गरिएपनि वडा सदस्यको पदबाट हटाउने अधिकार गाउँ कमिटीलाई नभएको महराको भनाइ छ ।
तर, निस्कासित गरिएपछि उनीहरुलाई वडा कार्यालयको कामकाजमा आउन छोडेको चुरे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुकुम बोहराले जानकारी दिए ।
केही महिना अघि सडकको अनुगमन गर्न गएका बेला वडा सदस्यद्वय धामी र नेपालीबीच भएको अन्तरंग संवादको अडियो बाहिरिएको थियो ।
सो अडियो बाहिरिएपछि निर्वाचित जनप्रतिनिधि नै अनैतिक गतिविधिमा लागेको भन्दै प्रतिपक्षी दलहरुले प्रेस वक्तव्य नै जारी गर्दै कारवाहीको माग गर्दै आएका थिए ।
सम्बन्धित समाचार :
कैलालीमा जनप्रतिनिधिको अश्लील कुराकानीको अडियो बाहिरिएपछि हलचल !