धनगढीको कोरोना अस्पताल भरिएपछि प्रशासन, व्यवस्थापन समिति र मन्त्रालय के गर्दैछन् ?
धनगढीः सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी स्थापना गरिएको कोभिड अस्थायी अस्पतालका शैया संक्रमितले भरिएका छन् । जनरल वार्ड मात्र होइन् अस्पतालको सघन उपचार कक्ष आईसीयू पनि भरिएको छ भने ३ वटा भेन्टिलेटर मात्र खाली छ ।
१० शैयाको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्ड समेत अक्सिजनको उपलब्धता हुनेगरी वैकल्पीक व्यवस्था गर्दै २० शैयाको बनाएको छ तर अस्पताल भर्ना भएका १७ जना संक्रमितलाई आईसीयूमा राखेपछि अब ३ वटा वैकल्पीक शैया मात्र खाली छन् ।
प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालका शैया संक्रमितले भरिएछि अब आउने संक्रमितलाई कसरी उपचार सेवा दिने भन्ने चुनौती अस्पताल सामू उभिएको छ । ‘अहिलेकै अवस्थामा थप जटिल खालका संक्रमित आएमा भर्ना गर्न सकिने स्थिती छैन् ।’ अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ भन्छन्, ‘अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
आवश्यक परेमा सेती प्रादेशिक अस्पतालकै पूरानो भवनमै भएपनि व्यवस्थापन गर्ने तयारी छ ।’अस्पतालमा सिमित जनशक्ति र आईसीयु तथा भेन्टिलेटर हुँदा गम्भीर संक्रमितले उपचार नपाउने स्थिती आएको छ ।सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले उपलब्ध पूर्वाधार र जनशक्तिले भ्याए सम्म संक्रमितलाई सेवा दिइरहेको बताउँदै थप शैया र उपकरण व्यवस्थापन गर्ने विषयमा माथिल्लो निकायसँग छलफल गर्ने जनाए ।
‘हामी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नियमित छलफलमा छौँ । अब कसरी अगाडी बढ्ने भन्ने विषयमा परामर्श भइरहेको छ ।’ जोशीले भने ।
दशैँका बेला हुने जमघटले संक्रमणको दर बढाउने चिकित्सकहरुले पूर्व आकलन अनुसार नै पछिल्लो समय कैलाली सहितका जिल्लाहरुमा संक्रमण बृद्धि भएको छ भने कडा लक्षण सहितका संक्रमितको संख्यामा समेत बृद्धि भइरहेको चिकित्सकले बताएका छन् ।
पछिल्लो समय स्वास्थ्य असावधानी बढेपछि गम्भीर अवस्था भएपछि मात्रै अस्पताल जाने गर्दा सहयोगी उपचार दिन समेत समस्या भइरहेको छ । प्रदेश सरकार लगायतका निकायले भने अस्पतालमा जनशक्ति थप्ने र उपकरण विस्तारमा भने खासै चासो नदिएको आरोप लागेको छ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती र महाकाली अस्पतालमा गम्भीर संक्रमितको उपचारका लागि सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटर सेवाको व्यवस्था रहेको बताउँदै टीकापुर अस्पतालमा पनि उपकरण पठाइसकेको बताए ।
‘९ वटै जिल्ला अस्पतालमा समेत आईसीयू र भेन्टिलेटर सेवा व्यवस्थापन गर्न पूर्वाधारको व्यवस्थापन भइरहेको छ । शैया थप गर्न खरिद प्रक्रिया पनि अगाडी बढाइसकेका छौँ,’ प्रवक्ता कार्कीले भने, धनगढीको कोभिड अस्थायी अस्पतालमा तत्काल शैया खाली नभए पूरानो भवनमै भएपनि व्यवस्थाप गछौँ । आवश्यक परे अस्थायी बेडहरु राखेर भएपनि संक्रमितको उपचार गर्ने हाम्रो तयारी छ ।’
संक्रमण तिव्र र गम्भीर संक्रमितको संख्यामा समेत बृद्धि भइरहेका बेला नीजि अस्पतालसँग समेत समन्वय गरी उपचारको व्यवस्था मिलाउनुपर्ने सुझाव दिईएको छ । तर सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले शुल्क सम्बन्धिको मुद्दाको अन्तिम निर्णय नभएकाले अन्यौलता सिर्जना भएकाले उक्त विषयको टुङ्गो लागेपछि मात्र छलफल थालिने दावी गरे ।
सुदूरपश्चिममा धनगढीको कोभिड अस्थायी अस्पताल सहित विभिन्न १८ अस्पतालमा ३ सय १० आईसोलेसन वेड छन् । ती मध्ये अहिले सम्म ८४ जना अस्पताल भर्ना भएका छन् ।
अन्यत्रका अस्पतालमा तत्काल आईसीयू र भेन्टिलेटर सेवाको उपलब्धता नहुँदा उपचारका लागि सेती प्रादेशिक अस्पतालमै पठाउने गरिएको छ । तर सेतीमा समेत शैया भरिएपछि उपचारमा समस्या हुने देखिएको छ।