सुदूर नेपाललाई विश्वसँग जोड्दै

धान खरिद : चासो छैन स्थानीय तहलाई, कम्पनीको ध्यान कोटामा

२०७७ कार्तिक २१, ०८:३४ नारायण अवस्थी

धनगढी : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कार्तिक १७ गतेदेखि सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा धान खरिद गर्न थालेको छ । कैलालीको धनगढी मोहनपुर र टीकापुर गरी २ स्थान र कञ्चनपुरको महेन्द्रनगरबाट धान खरिद कार्य कम्पनीले थालेको हो । कैलालीकै भजनी र जोशीपुरबाट पनि खरिद गर्ने तयारी कम्पनीको छ ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला धान उत्पादनको प्रमुख जिल्ला हो । यी २ जिल्लाको उत्पादनले बाँकी ७ जिल्लाको भरणपोषण हुुुन्छ । यतिबेला किसानले आफुुलाई चाहिने धान भण्डारण गरी बाँकी धान बिक्री गर्ने समय हो । तर कम्पनीले सीमित स्थानमा मात्रै धान खरिदको डिपो राख्दा ग्रामीण भेगका किसान अझै धानको उचित मूल्य पाउन नसकेका हुन् । जुनकारण सस्तो मूल्यमा गल्ला व्यापारीलाई बिक्री गर्न बाध्य छन् ।

कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीका स्थानीय सियाराम चौधरी भन्छन् ‘हामी दूर दराजका किसानलाई सरकारी मूल्य ‘अकाशको फल आँखा तरी मर’ जस्तै भयो । हामी धनगढी बेच्न जान सक्दैनौ । बाध्यता भएर व्यापारीलाई बिक्री गर्नुपर्छ ।’ स्थानीय तहभित्रैको स्थानमा धान खरिद डिपो राख्न सके आफुहरुलाई सहज हुने चौधरीको भनाइ छ ।

सरकार स्वामित्वको कम्पनीले हाल प्रति क्वीन्टल मोटा धान २ हजार ७३५ रुपैयाँमा खरिद गरिरहेको छ । यो मूल्य किसानको लागि आकर्षक छ । तर सीमित स्थान र सीमित कोटा तोकेर धान खरिद गर्न थालेपछि दूर दराजका किसान मारमा परेका हुन् । 

कम्पनीले कैलाली जिल्लाको लागि ६ हजार ५ सय मेट्रिक टन र कञ्चनपुर जिल्लाको लागि ७ हजार क्वीन्टन धान मात्रै खरिद गर्ने कोटा निर्धारण गरेको हो ।तर स्थानीय तहभित्रै खरिद डिपो राख्न नत स्थानीय तहले कुनै चासो देखाएका छन्, नत कम्पनीले ।

गत आर्थिक वर्ष कम्पनीले कैलालीको अति नै धान उत्पादन हुने कैलारी गाउँपालिकामा खरिद डिपो तयारी थालेको थियो । तर चाहे अनुसारको गोदामघर पाउन नसकेपछि कम्पनी पछि हट्यो । गाउँपालिकाले पनि व्यवस्थापन गर्नबाट चुक्यो ।चालु वर्षमा पनि कैलाली र कञ्चनपुर जिल्लाका स्थानीयहरु धान खरिद गर्ने तर्फ तत्परता देखाएका छैनन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अनिल श्रेष्ठले गोदामघरको व्यवस्था नहुँदा अन्य स्थानमा डिपो राख्न नसकेको बताउँछन् । कम्पनीका प्रमुख श्रेष्ठ भन्छन् ‘गोदामघरको समस्या हुँदा सबै स्थानीय तहबाट धान खरिद गर्न सकिएको छैन । स्थानीय तहले भण्डारण व्यवस्थापन गर्न सहयोग गरे कम्पनीले आगामी दिनमा सबै स्थानीयबाट खाद्यान्न खरिद गर्ने थियो ।’

तर स्थानीय तहले भने कम्पनीले खरिद गर्न चाहे सहयोग गर्न तयार भएको दावी गरेका छन् । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले भने, ‘कम्पनीले पत्राचार गरे हामी सहयोग गर्न तयार छौँ । हामीले अघिल्लो वर्ष पनि लिखित रुपमा खरिद गर्न माग गरेका हौ । उहाँहरु नै किसानहरुबाट खरिद गर्न चाहनु हुन्न ।’

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले कम्पनीले चाहेमा आफुहरु गोदामको व्यवस्थापन गर्न तयार रहेको र भण्डारणमा लाग्ने खर्च समेत व्यहोर्न तयार रहेको जानकारी दिए ।स्थानीय तहका प्रमुखहरुले मुलुक संघीय संरचनामा गएपनि कम्पनी अझैपनि पुरानै संरचनामा रहेको टिप्पणी गरेका छन् । स्थानीय तहस्तरमा सेवा विस्तारमा गम्भीर नरहेकोले समेत आरोप लगाएका छन् । 

कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले भने, ‘हाम्रो पालिकामा गोदामको समेत व्यवस्था छ । तर पुरानै संरचनाबाट ग्रसित कम्पनीले आफ्नो सेवा विस्तारमा ध्यान दिएको छैन । हामीलाई गत वर्ष कम्पनीले धोखा दिएकै हो ।’

कम्पनीका महेन्द्रनगर शाखा प्रमुख तपेन्द्र उपाध्यायले सीमित जनशक्ति र सीमित पूर्वाधारका कारण सेवा विस्तारमा समस्या भएको बताउँछन् । तर स्थानीय तहले तत्परताका साथ कम्पनी संग सहकार्य गरे तत्काल धान सिजनमा सम्भव नभएपनि आउदो सिजनको लागि तयारी गर्न सकिने शाखा प्रमुख उपाध्यायको भनाइ छ ।

कैलालीका १३ स्थानीय तह मध्ये धान उत्पादना दृष्टिकोणले मोहन्याल र चुरे बाहेकका स्थानीय तह महत्वपूर्ण मानिन्छन् । कञ्चनपुर जिल्लाका पनि अधिकांश स्थानीय तह धान उत्पादनको हिसाबले महत्वपूर्ण मानिन्छन् ।

तर स्थानीय तह अन्तरगत कम्पनीले सेवा विस्तार गर्न नसक्दा गल्ला व्यापारीहरुलाई सस्तो मूल्यमा किसानले धान बिक्री गर्न बाध्य छन् । जसले गर्दा लागत मूल्य समेत नपाउने स्थानीय किसानको दुखेसो छ ।

ग्रामीण भेगमा यतिबेला किसानले स्थानीय गल्ला व्यापारीहरुलाई प्रति क्वीन्टन २ हजारमा धान बिक्री गर्न बाध्य भएका छन् ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस