सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जयपृथ्वी नगरपालिकाले नगर क्षेत्रमा राखेका डष्टविन गायब !

२०७७ कार्तिक २०, ०८:५० खबर संवाददाता

प्रताप ओली, बझाङ: १ वर्षअघि जिल्ला सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकाको केन्द्र चैनपुर बजारमा फोहोर बढेको भन्दै डष्टविन राखिएको थियो ।

३ वटा पसलले एउटा प्रयोग गर्ने नियम बनाएर नगरपालिकाले बजारभर फोहोर व्यवस्थापन गर्न  डष्टविन राखेको थियो । तर अहिले ती डष्टविन छिटफुट रुपमा टुटेको फुटेको अवस्थामा बजारमा छेउछाउ देख्न सकिन्छ । नगरपालिकाले फोहोर व्यवस्थापन गर्न राखेका डष्टविन अहिले बजारबासीले दुरुपयोग गरी आ–आफ्ना निजी चर्पी, होटेल र पसलमा राखेको पाइएको छ ।

गत मंसिर अन्तिममा नगरपालिकाले प्रत्येक टोलमा सरसफाइ समिति गठन गरेको थियो । सदरमुकाम चैनपुर, भोपुर र जिल्ला अस्पताल समेत रहेको सिमखेतमा ३४ वटा टोल सरसफाइ समिति गठन गरियो । यिनै समितिको निगरानीमा रहनेगरी फोहोर संकलन गर्न एक सय ७० वटा डस्टबिन विभिन्न स्थानमा राखियो ।

एउटा समितिलाई ५ वटा डस्टबिन वितरण गरिएको थियो । नगरपालिकाका अनुसार डस्टबिन खरिदमा दुई लाख ८० हजार रुपैयाँ खर्च भएको छ । तर दुई महिना नपुग्दै राखिएको ठाउँमा डस्टबिन देखिन छाडेका छन् ।

 बजारमा राखिएका डस्टबिनहरू स्थानीयले आँगन, शौचालय तथा घरमा अन्य प्रयोजनमा प्रयोग गरिरहेका छन् । ‘डस्टबिन कसैका भान्छामा चामल, पिठो राखिएको अवस्थामा भेटिन्छन्,’ रुमी जाग्रीले भनिन्, ‘कतिले शौचालयमा पानी भर्ने बनाएर राखेका छन् । यहाँका मान्छेको बानी केही गरे पनि नसुध्रिने भयो ।’ 

 

यसअघि पनि सदरमुकाम चैनपुरमा फोहोर संकलन गर्नका लागि युएमएन नामक संस्थाले सामुदायिक प्रहरीसँग मिलेर सार्वजनिक स्थानमा डस्टबिन राखेको थियो । तर ती डस्टबिन पनि यसैगरी हराएका थिए । ८० हजार खर्च गरी राखिएका डस्टबिन रातारात गायब पारिएपछि नगरपालिकाले ठूलो आकारको प्लास्टिककै डस्टबिन राखेको थियो । 

‘हामीहरू अभियान लिएर जाँदा सरसफाइ त गर्ने तर फोहोर कहाँ फाल्ने भनेर डस्टबिन चाहियो भन्छन्,’ योग समिति अध्यक्ष मोहन मल्लले भने, ‘फोहोर संकलन गर्नका लागि सार्वजनिक ठाउँमा राखिएका डस्टबिन घरभित्र लुकाउँछन् । अनि फेरि उही प्रश्न गर्छन् ।’

उनले सार्वजनिक स्थानमा राखिएका डस्टबिन लुकाउनेलाई सार्वजनिक सम्पत्ति चोरीसम्बन्धी मुद्दामा कारबाही गर्नुपर्ने बताए । सदरमुकाम सफा राख्न नेपाली सेना, नेपाल प्रहरीलगायत सरकारी तथा गैर सरकारी संघसंस्थाहरूले विभिन्न समयमा बजार सरसफाइका कार्यक्रम सञ्चालन गर्दै आए पनि स्थानीयले सहयोग नगर्दा प्रभावकारी बन्न नसकेको उनले गुनासो गरे ।

नगरपालिकाका प्रमुख विरेन्द्र खड्काले नगरक्षेत्र सफा राख्ने जिम्मा सबै नगरबासीको भएकोले सार्वजनिक सम्पत्तिको जगेर्ना र फोहोर व्यवस्थापनमा जोड दिन आग्रह गरे ।

सार्वजनिक स्थानमा रहेका डस्टबिन घरमा राखेको विषयमा नगरपालिकाले जाँचबुझ गरिरहेको अब फेरि पनि व्यक्तिगत प्रयोजनमा डष्टविन प्रयोग गरिएको पाइए कारबाही गर्न बाध्य हुने बताए ।
 

कमेन्ट लोड गर्नुस