सुदूरपश्चिममा माछा पोखरी निर्माणको अनुदान पाउन कैलाली–कञ्चनपुरबाट दोब्बर बढी निवेदन
धनगढी: सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा ४० हेक्टर क्षेत्रमा नयाँ पोखरी निर्माणका लागि किसानहरुलाई अनुदान दिने कार्यक्रम ल्याएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दमार्फत कार्यान्वयन हुन लागेको उक्त कार्यक्रममा असोज ६ गते सूचना जारी गरेकोमा दोब्बर बढी निवेदन परेका छन् ।
माग भएभन्दा दोब्बर बढि निवेदन परेपछि छनौटमा समस्या भइरहेको बताइएको छ । किसानको संख्या कम गर्ने वा प्रति किसानलाई अनुदानको जमिनको क्षेत्रफल कम गर्ने भन्ने बिषयमा अन्यौलता भएको जिकिर गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पानसिँह ठगुन्नाले सबै किसानलाई अनुदानको रकम दिने तर किसानको नयाँ पोखरीको क्षत्रफल कम गर्ने बताए ।
उनले भने, ‘कञ्चनपुरमा १५ हेक्टर क्षेत्रफलका लागि मात्र अनुदानको रकम छ । तर ४० हेक्टर क्षेत्रफल भन्दा बढिमा नयाँ माछा पोखरी निर्माण गर्ने भन्दै किसानहरुले निवेदन दिएका छन् । किसानको जमिनको क्षेत्रफल कम गर्न सोच बनाएका छौ । तर स्थलगत अध्ययन गर्न बाँकी छ ।’
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले समेत सोहि मितिमा सूचना सार्वजनिक गरेको छ । कैलालीमा ४२ जना किसानले आवेदन दिएका छन् । तर २५ हजार क्षेत्रफलका लागि ७५ लाख मात्र नयाँ माछा पोखरी निर्माणका लागि बजेट छ ।
प्रति कट्टा १० हजारका दरले अनुदान दिने प्रदेश सरकारले मापदण्ड बनाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका सूचना अधिकारी हरिप्रसाद जोशीले बताए । उनले भने, ‘प्रति कट्ठा १० हजार अनुदान दिने हो । तर कैलालीमा ४२ जना किसानले अनुदानका लागि निवेदन दिएका छन् । किसानको संख्या धेरै छ । क्षेत्रफल समेत दोब्बर बढि छ ।’
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुलाई किसान छनौटमा सकस हुने भएपनि अन्यौलता सिर्जना भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले किसानको जमिनको अवस्था अर्थात क्षेत्रफलको अध्ययन थालेको छ ।
तर आवेदन धेरै परेकाले पुनःबजेट माग गर्ने तयारी समेत थालिएको विज्ञ केन्द्र कैलालीका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख बसन्त सिँहले बताए । ‘निवेदन धेरै छन् । मन्त्रालयमा रकम भएकाले पुनः रकम माग गर्ने सोचमा छौ’ सिँहले भने ।