सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाङमा मकै उत्पादनमा वृद्धि

२०७७ कार्तिक १९, ०४:४४ रासस

तुलसीपुर : दाङ जिल्लामा यस वर्ष मकैको उत्पादन बढेको छ । 

मकै खेतीका लागि समयमै पानी पर्नाका साथै मल बीउ प्रर्याप्त भएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो । कोरोना रोकथाम तथा न्यूनिकरणका लागि गरिएको लकडाउनले गर्दा सबै कृषक घरमै भएकाले पनि उत्पादनमा बृद्धि भएको केन्द्रका कृषि अर्थविज्ञ उमेश चन्द्र श्रेष्ठले बताए ।

“यस वर्ष लकडाउन पनि भयो, सबै किसान घरमै भए, बाहिर कमाउन गएकाहरू पनि घर फर्केकाले र जग्गा पनि बाँझो रहने अवस्था नभएकाले मकै उत्पादनमा वृद्धि भएको हो ।” यस वर्ष कूल २३ हजार ४४८ हेक्टर जमिनमा मकै खेती गरिएकामा ३५ हजार ६५६ मेट्रिकटन मकै उत्पादन भएको छ । गतवर्ष ३५ हजार ४१० मेट्रिकटन मकै उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २४६ मेट्रिकटन बढी मकै उत्पादन भएको अर्थविज्ञ श्रेष्ठले बताए । 

मकैको उत्पादन बढेकाले किसानहरू पनि खुशी भएका छन् । गढवा गाउँपालिका ७ मोतिपुरका चोकनाथ चौधरीले गत वर्षको भन्दा यसवर्ष मकैबाली राम्रो भएको बताए । चौधरीले एक बिघा जमिनमा मकै खेती गरेका थिए । गत वैशाख महिनामा बसन्ते मकै र त्यसअघि वर्षे मकैको उत्पादन वृद्धि भएको उनको भनाइ थियो । 

सोही ठाउँका रामबहादुर चौधरीको पनि यसवर्ष मकै उत्पादन बढेको छ । उनको वैशाखमा बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल उत्पादन भएको थियो ।

कमेन्ट लोड गर्नुस