सुदूर नेपाललाई विश्वसँग जोड्दै

जब नक्कली भनिएको हजारको नोट प्रहरीको अनुसन्धानबाट सक्कली भएको खुल्यो..

२०७७ कार्तिक १९, ०८:०७ खबर संवाददाता

प्रताप ओली, बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–०९ चिउरी खान (चौड) बजारमा २ जना अपरिचित व्यक्तिले पसलमा ६ सय ५५ रुपैंयाँको चाउचाउ, चिनी लगायतका सामान किने ।

उनीहरुले पसलेलाई सामान वापतको रकम तिरे । पसलेलाई उनीहरुले हजारको नोट दिए । सो नोटमा २ वटा हात्ती देखेपछि पसलले नक्कली नोट भन्दै प्रहरीलाई बोलाए । प्रहरीले तत्कालै उनीहरु दुवैजनालाई नियन्त्रणमा लियो । र प्रहरीले अनुसन्धान थाल्यो ।

जब प्रहरीले अनुसन्धानका क्रममा राष्ट्रिय वाणिज्य बैंकलाई जानकारी गरायो । त्यसपछि मात्र थाहा भयो की त्यो नोट नक्कली नभएर हालै जारी भएको नयाँ नोट थियो ।

बझाङ प्रहरीलाई झुक्किएकोमा पछुतो भयो । वाणिज्य बैँकले नै नोट सक्कली भनेपछि पक्राउ परेका दुवै जनालाई केहीबेरमै छोड्यो ।

बझाङमा सरकारले चलनचल्तीमा ल्याएको नयाँ नोटबारे जानकारी नहुँदा आम सर्वसाधारण मात्रै होइन प्रहरी समेत झुक्किएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ । नेपाल राष्ट्र बैंकले २६ अर्ब बराबर एक हजारको नयाँ नोट २०७७ साउन ७ गतेदेखि बजारमा प्रचलनमा ल्याएको थियो ।

यसअघि एक मात्र हात्ती हुने नोटमा अहिले जुम्ल्याहा हात्ती राखिएको छ । तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाइ भएकाले नयाँ नोटमा पनि उनकै हस्ताक्षर छ ।

राष्ट्र बैंकका अनुसार हात्तीको चित्र भने वन तथा वातावरण मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको हो ।

देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम’ र ‘लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् ।

प्रायः हात्तीबाट जुम्ल्याहा बच्चा जन्मिनु दुर्लभ मानिन्छ । तिनै दुर्लभ हात्तीको फोटो हजारका नोटमा राखिएका छन् ।  

 

कमेन्ट लोड गर्नुस