जापानबाट फर्केर कुखुरापालनमा
गलकोट : जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आएका छन् । राजनीतिलाई धेरैले कमाइखाने भाँडोजस्तो बनाएको नेपाली राजनीतिमा तीव्र बहस हुँदै आएको सन्दर्भमा जापान त्यागेर राजनीतिसँगै कुखुरापालन गरी अण्डा उत्पादनमा यहाँका दुई जना लागेका हुन् ।
विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय बागलुङका दुई जनाले व्यावसायिक कुखुरा पाल्दै आएका छन् । चार वर्ष साउदी अरबमा र छ वर्ष जापान बसाइपछि नेपाल आउनुभएका गलकोट नगरपालिका–५ हरिचौरका ललितबहादुर श्रीस र चार वर्षको जापान बसाइपछि फर्केका बागलुङ नगरपलिकाका–२ बालमन्दिर रोडका इन्द्र केसीले अण्डा उत्पादनका लागि लेयर्स जातका कुखुरापालन गर्दै आएका छन् ।
दुवै जनाले हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सक्रिय राजनीतिसमेत गर्दै आएका छन् । श्रीस नेकपाको गलकोट नगर कमिटीको अध्यक्ष र केसी नेकपा बागलुङ नगर कमिटीका सचिव हुन् । श्रीस र केसी पार्टीको बैठक, भेटघाट तथा जनगुनासो सम्बोधन गर्ने काममा त व्यस्त छन् नै, त्यससँगै समयको यथोचित व्यवस्थापन गरेर व्यावसायिक कुखुरापालन पनि उनीहरुको मुख्य कर्म हो ।
उमेरले ५१ वर्ष पुगेका श्रीसको जीवनमा अनेकौँ उतारचढाव आयो । राजनीति नै जीवन हो भन्दै आएका श्रीस केही समय राजनीतिबाट अलग भएर कहिले साउदी त कहिले जापान भौँतारिनुभयो तर विदेशको बसाइ त्यागेर कृषिमा भविष्य देख्न थालेका श्रीसले नेपाल फर्केर राजनीतिक जीवनलाई समेत सक्रिय बनाउन थालेका हुन् ।
विसं २०६० मै स्वदेश आएर कृषि पेशा अँगालेका श्रीसले पुनः कुखुरापालनसँगै राजनीतिमा सक्रिय हुँदै आएका छन् । विसं २०३६ देखि विद्यार्थी राजनीतिमा लागेका श्रीस १० वर्षको विदेश बसाइपछि राजनीतिसँगै कृषिमा लागेका थियो । स्वदेशमै केही गर्ने सोचका साथ जापानजस्तो देशसमेत त्यागरे व्यावसायिक उत्पादनमा लागेका श्रीस अहिले गलकोटकै सफल कृषकका रूपमा परिचित छन् ।
यस्तै ४० वर्षका केसीले दुई वर्षअघिदेखि बागलुङ नगरपालिका–३ कृषिगाउँमा जिम्माल कृषि फार्म सञ्चालनमा ल्याएका छन् । तीनवटा ब्लकमा स्थापना गरिएको उहाँको फार्ममा हाल दुई हजार ५०० लेयर्स जातका कुखुरा छन् । अहिले दैनिक दुई हजारभन्दा बढी अण्डा उत्पादन गर्दै आएको केसीले बताए ।
हरिचौरमा प्रशस्त जग्गा रहेको श्रीसले त्यही जग्गामा सुन फलाउने लक्ष्यका साथ विसं २०६१ देखि सुन्तला खेती, केही समय बाख्रापालन र अहिले अण्डा उत्पादनका लागि लेयर्स जातका कुखुरापालन गर्दै आएका छन् । “राजनीतिबाट सामाजिक जीवन चल्दै आए पनि आर्थिक जीवन चलाउन पहिले विदेश र विदेशबाट आएर अहिले कृषि पेशामा लागेको छु”, श्रीसले भने, “कृषि र पशुपालनलाई व्यावसायिक बनाउँदै लगेपछि पुनः राजनीतिमा समेत सक्रिय हुँदै आएको छु ।”
अहिले उनको तरकारी टनेल तथा खुला जग्गामा भिन्डी, टमाटर, लौका र करेलालगायतका तरकारी उत्पादन भएका छन् । श्रीसले १० रोपनी क्षेत्रफलको जग्गामा ३०० किलोभन्दा बढी उत्पादन दिने सुन्तला, वार्षिक १२ क्विन्टल धुलो उत्पादन गर्दै आएको बेसारखेती र विसं २०७१ देखि श्रीस पोल्ट्रीमार्फत लेयर्स जातका कुखुरापालन गरी अण्डा उत्पादन गर्दै आएका छन् । श्रीसका अनुसार अहिले लगानी र ध्यान कुखुरापालनमै बढी लगाउँदै लाएका छन् ।
चार हजार कुखुरा पाल्ने क्षमताको श्रीस पोल्ट्री फार्ममा अहिले झण्डै तीन हजार अण्डा दिने कुखुरा छन् । पश्चिम बागलुङलाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कुखुरापालनमा आएको भन्दै हालसम्म एक करोड ३० लाख लगानी गरिसकेको र नाफाबाट आएको रकमसमेत लगानी गर्दै आएको श्रीसको भनाइ छ ।
फार्म र जग्गा व्यवस्थापनमा हालसम्म रु २५ लाख लगानी गर्नुभएका केसीले परीक्षणका लागि टर्की चरासमेत पाल्न सुरु गरेका छन् । अहिले उनको फार्ममा १२ वटा टर्की चरा छन् । “जनताको काममा मात्रै खटिँदा आर्थिक समृद्धि हुन नसक्ने भन्दै राजनीतिबाट बचेको समय फार्ममा खर्चँदै आएको छु”, केसीले भने, “जनतालाई आर्थिक विकासमा जोडिनुपर्छ भन्ने आफू केही नगर्ने भन्ने हुँदैन, पहिला आफूले गरेपछि अरुलाई प्रेरणा प्रदान गर्न सकिन्छ भन्ने हो ।”
उनले फार्मबाट मासिक चार लाख आम्दानी गरेको बताउँदै सबै खर्च कटाउँदा एक लाख बचत गर्न सकिने बताए । आम्दानी राम्रै भएपनि कुखुराको दाना महङ्गो हुँदै गएका कारण नाफा घट्दै गएको बताए । व्यावसायिक उत्पादनमा नजोडिने हो भने राजनीतिक भविष्यसमेत अन्योलमा पर्ने भन्दै कुनै न कुनै अवस्थामा युवाहरु उत्पादनमा जोडिन आवश्यक रहेको उनको तर्क छ ।
अण्डामा आत्मनिर्भर गराउन धेरै युवा बागलुङमा अण्डाको व्यावसायिक उत्पादनमा लागेको भन्दै विदेश जान खोजेका युवालाई समेत स्वदेशमै केही गर्ने गरी उत्प्रेरणा जगाउन आवश्यक रहेको बताए ।