सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमितको शव व्यवस्थापनमा किन विरोध ? यस्तो छ कार्यविधि

२०७७ कार्तिक १५, ०६:४० लखन चौधरी

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीको अस्थायी कोरोना अस्पतालमा कार्तिक १३ गते कोरोना संक्रमितको मृत्यु भयो । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका २ की ५७ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । ती महिलाको शव धनगढी उपमहानगरपालिका १ स्थित कब्रिस्तानमा व्यवस्थापन गरियो ।

तर लगत्तै केही स्थानीयले मानववस्ती जोडिएको क्षेत्रमा संक्रमितको शव व्यवस्थापन गरिएको भन्दै विरोध गरे । गाडिएको शव अन्यत्र व्यवस्थापन गर्नुपर्छ भन्दै टायर बालेर प्रदर्शन संगै कब्रिस्तानमै तालाबन्दी गरे ।

केही दिन अगाडी पनि धनगढीकै कोरोना अस्पतालमा मृत्युु भएका एक जनाको शव व्यवस्थापनको लागि नेपाली सेनाले गोदावरी नगरपालिकास्थित सामुदायिक वनमा लगेको थियो । तर स्थानीयले त्यहाँ पनि विरोध गरे । त्यहाँका स्थानीयले आफ्नो वस्ती नजिक संक्रमितको शव गाड्न नहुने भन्दै विरोध गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा बताउँछन् ।

केही साता अगाडी सेनाको टोली कोरोनाबाट मृत्युको विरामीको शव त्रिनगर भन्सारस्थित नेपाल भारत दशगजा क्षेत्रमा व्यवस्थापनको लागि लगेको थियो । तर भारतीय सुरक्षा अधिकारी दशजगा क्षेत्रमा व्यवस्थापन गरिनु हुन्न भनेर विरोध जनाएको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड बताउँछन् ।

यी प्रतिनिधी घटना मात्रै हुन् । कोरोना संक्रमणको दर बढे संगै मृत्यु हुनेको संख्यामा पनि बढ्दै गएको छ । तर संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयको चर्को विरोध हुन थालेपछि चुनौती थपिएको हो ।

प्रमुख जिल्ला बोहरा भन्छन्,‘कोरोनाबाट मृत्यु भएकालाई जहाँ व्यवस्थापन गर्न जान्छौ, त्यहै विरोध हुन्छ । सामुदायिक वन तथा स्थानीयले विरोधै विरोध गरिरहेका छन् । स्थानको अभाव भयो ।’

धनगढीका मेयर वड थप्छन्, ‘जता पनि वस्ती छ । वस्ती नजिक कोही पनि शव व्यवस्थापन गर्न दिएको छैन । निकै चुनौती छ । कोरोना यस्तो भैसक्यो, कि कुनै दिन आज विरोध गर्नेकै घरमा घटना घट्यो भने के हुने ? त्यसैले जनतालाई नोक्सान नहुने गरी हामी जग्गाको पहिचानमा लागेका छौ । जनतामा पनि सकारात्मक सोचको विकास हुन जरुरी छ ।’

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न सरकारले ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि (दोस्रो संशोधन) २०७७ जारी गरेको छ । । जसको आधारमा नै हालसम्म शव व्यवस्थापन हुदै आएको छ ।

कार्यविधिको दोस्रो बुँदामा उल्लेख छ, ‘कोभिड १९ को कारण मृत्यु भएको शवको परम्परागत चली आएको अन्त्येष्टि गर्ने स्थानमा नै विशेष सावधानी अप्नाई अन्त्येष्टि गर्नु पर्दछ । मृतकको धर्म परम्परा अनुसार शवको सम्मान गर्दै निजको आफन्तलाई समेत सुरक्षित राख्नु पर्दछ ।’

कार्यविधी अनुसार मुस्लिम समुदायले कब्रिस्तानमै शवको व्यवस्थापन गर्न पाउँछन् भन्ने स्थानीय प्रशासनको जोड छ । मुस्लिम सामुदायले पनि सदियौंदेखि चल्दै आएको परम्परा अनुसार नै अन्तिम संस्कार गर्न पाउनुपर्ने माग राखेका छन् ।

मुस्लिम युवा मुस्ताक अन्सारी भन्छन्, ‘हाम्रो धार्मिक परम्परा अनुसार कब्रिस्तानमै शव गाड्ने प्रचलन छ । अर्कोकुरा, यहाँ मानववस्ती पहिलेदेखि छ कि, कब्रिस्तान ? मानव वस्ती बस्नु भन्दा पहिल्यैदेखि यो ठाउँमा कब्रिस्तान छ । संयौं वर्षको इतिहास छ । कसैले हाम्रो मस्जित नै सार्नुपर्छ भन्यो भने, मस्जित नै सार्ने त ? यो कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।’

नबुझेर विरोध : स्वास्थ्य मन्त्रालय
कार्यविधि अनुसार शव व्यवस्थापन गरेपछि कोरोना संक्रमणको जोखिम नहुने बताइएको छ । मृतकको शव जलाई सकेपछि वा गाडेपछि संक्रमण जोखिम नहुने बताइएको हो । जातीय संस्कार अनुसार शव जलाउने वा गाड्ने गरिएको जानकारी जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतम दिनेश खबर संग भन्छन्, ‘शव व्यवस्थापनमा हुँदै आएको विरोध नबुझेरै भैरहेको छ । कार्यविधि अनुसार शव गाडेपछि वा जलाइसकेपछि संक्रमण फैलिन्न । जसको जे संस्कार छ, त्यही अनुसार नै गर्नु दिनुपर्छ ।’

परिवार र आफन्तले डराएर शव छुन नचाहेका कारण सुरक्षाकर्मीले सद्गति गर्नु परेको उनको भनाइ छ । सुरक्षा व्यवस्था अपनाएर परिवारलाई परम्परा अनुसार शवको सद्गति गर्न दिन सकिने पनि गौतम बताउँछन् ।

विरोधले पीडामाथि पीडा

संक्रमित शव गाडेको विषयमा भएको विरोधले पीडितलाई झन पीडित बनाएको छ । मृतकको शवमाथि नै अपमान हुने गतिविधि भैरहेका हुन् । स्थानीय प्रशासन नै लचार बनेपछि र स्थानीय निकाय नै कार्यविधि मिचेर चली आएको मूल्य मान्यतामा अंकुश लगाएपछि पीडितलाई झन पीडित बनाएको हो ।

धनगढी उपमहानगरपालिकाको १ नंं. वडा कार्यालयको पत्रमा भनिएको छ, ‘सो स्थानमा अर्को व्यवस्था नभएसम्मको लागि कुनै पनि किसिमको लासको व्यवस्थापन कब्रस्थानमा नगर्ने भनी सम्बन्धित टोलको संघर्ष समितिबाट मुचुल्का लेखी आएकोले सो अनुसार उक्त स्थानमा अर्को व्यवस्था नभएसम्मको लागि कुनै पनि किसिमको लासको व्यवस्थापन नगर्न, नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरिएको छ ।’

शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको थियो । तर शव व्यवस्थापन गर्न नदिइएपछि घरमै शव राखेर मृतकका परिवार तथा आफन्तजन शुक्रबार विहानदेखि जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका छन् ।

शुक्रबार दिनभरी पनि जिल्ला प्रशासन कार्यालय कैलालीले निकास दिन नसक्दा पीडितलाई झनै पीडित बनाएको हो ।
 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस