धनगढी उपमहानगरपालिकाले कार्यविधि मिच्यो, मुस्लिम समुदायलाई कब्रिस्तानमा शव गाड्न रोक
धनगढी: धनगढी उपमहानगरपालिकाको १ नं. वडा कार्यालयले ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि (दोस्रो संशोधन) २०७७’लाई मिच्दै मुस्लिम समुदायलाई कब्रिस्तानमा शव व्यवस्थापन गर्नबाट वञ्चित गरेको छ ।
उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष सन्तोष मुडभरीले मुस्लिम समुदायलाई पत्रचार गर्दै शव व्यवस्थापन गर्नबाट रोक लगाएको हो ।
धनगढी उपमहानगरपालिका–२ की ५९ वर्षीया महिलाको कार्तिक १३ गते कोरोना संक्रमणका कारण सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएको थियो । उनको शव कब्रिस्तानमा व्यवस्थापन गरिएको थियो । तर लगत्तै केही स्थानीयले मानववस्ती संगै जोडिएको कब्रिस्तानमा शव व्यवस्थापन गरिनु हुन्न भन्दै विरोध गर्दै तालाबन्दी गरेका थिए ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सो कार्यविधिको दोस्रो बुँदामा उल्लेख छ, ‘कोभिड १९ को कारण मृत्यु भएको शवको परम्परागत चली आएको अन्त्येष्टि गर्ने स्थानमा नै विशेष सावधानी अप्नाई अन्त्येष्टि गर्नु पर्दछ । मृतकको धर्म परम्परा अनुसार शवको सम्मान गर्दै निजको आफन्तलाई समेत सुरक्षित राख्नु पर्दछ ।’
वषौंदेखि सोही कब्रिस्तानमा मरेका मान्छेहरुलाई सदगति गर्दै आएका स्थानीय मुस्लिम समुदायलाई भने धार्मिक परम्परा अनुसारको कार्य गर्नबाट वञ्चित गरिएको हो ।
वडा कार्यालयको पत्रमा भनिएको छ, ‘सो स्थानमा अर्को व्यवस्था नभएसम्मको लागि कुनै पनि किसिमको लासको व्यवस्थापन कब्रस्थानमा नगर्ने भनी सम्बन्धित टोलको संघर्ष समितिबाट मुचुल्का लेखी आएकोले सो अनुसार उक्त स्थानमा अर्को व्यवस्था नभएसम्मको लागि कुनै पनि किसिमको लासको व्यवस्थापन नगर्न, नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरिएको छ ।’
अर्को शव घरमै
स्थानीय निकायले शव गाड्न रोक लगाएपछि शोकमा डुबेको एक मुस्लिम परिवारले आफ्नो आफन्तको अन्तिम संस्कार गर्नबाट वञ्चित भएका छन् ।
शुक्रबार विहान दुबै मृगौला फेल भएर मृत्यु भएका धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको थियो ।
मृतकका छोरा सद्दाम जमसेदले भने, ‘हाम्रो संस्कार अनुसार कब्रिस्तानमै शव गाड्नुुपर्छ । तर रोक लगाएपछि अन्तिम संस्कार गर्न पाएका छैनौ । शव घरमै राखेका छौ ।’
मुस्लिम समुदायमा मृतकहरुको अन्तिम संस्कार तथा शव व्यवस्थापन कब्रिस्तानमै गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । उनीहरु कब्रिस्तानमै अन्तिम संस्कार गर्न पाउनुपर्ने भन्दै स्थानीय प्रशासन संग माग गरेका थिए । तर कुनै सुनुवाई भएको छैन ।
यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शव व्यवस्थापनको लागि सबै पक्षसंग छलफल भैरहेको बताए ।