धनगढीको कब्रिस्तानमा तालाबन्दी
धनगढी : कोरोना संक्रमणबाट मृत्यु भएकी महिलालाई धनगढी नगरपालिकास्थित कब्रिस्तानमा गाडेको भन्दै स्थानीयले कब्रिस्तानमा तालाबन्दी गरेका छन् । मानववस्ती संगै रहेको कब्रिस्तानमा कोरोना संक्रमितलाई गाडेको भन्दै स्थानीयले तालाबन्दी गरेकाे वडा नम्बर १ का वडाअध्यक्ष तथा प्रवक्ता सन्तोष मुडभरीले बताए ।
धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिलाको विहिबार विहान मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनकोे मृत्यु भएपछि स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएका थिए ।
शव बुझाएपछि स्थानीय प्रशासन र मृतकका परिवारजनले कब्रिस्तानमा शव गाडेका हुन् । शव गाडेपछि नजिक बस्तीका स्थानीयले विरोध गरेका थिए ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मानववस्ती भन्दा अलग्गै रहेको स्थानमा गर्दै आएको थियो ।
कोरोनाका कारण मृत्यु भए कसरी हुन्छ शव व्यवस्थापन ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन कार्यविधि बनाईसकेको छ । कोरोनाले मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी अर्थात् मृतकको जस्तो हुँदैन । सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ ।
कार्यविधि अनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने छ । शवलाई कमभन्दा कम चलाउने गर्नुपर्छ । कार्यविधिमा उल्लेख भए अनुसार शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउदाँ सर्तकता अपनाउनुपर्छ ।
शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्छ। मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिन्छ तर, सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पु¥याउनुपर्नेछ ।
६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने कार्यविधिमा उल्लेख छ ।
अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ। मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउनेछन् ।