सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ कार्तिक १३, ०९:०६ रासस

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख बढी आम्दानी गरेका छन् ।

जेकेए पशुपंछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर तीन लाखभन्दा बढी आम्दानी गरेका हुन् । उनले एक विघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् ।

गत असार महिनामा माछाका पाँच हजार भुरा खेतमा राखेका उनले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पु¥याएर विक्री गरेका छन् । “धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेका छौं”, उनले भने, “माछापालनबाट सोचे भन्दा बढीनै आम्दानी भएको छ ।” धानको उत्पादन समेत बढेपछि दोहरो आम्दानी हात परेको उनको भनाइ छ । 

“धान खेतमा माछापालन शुरु गरेपछि रोग किराको समस्या समेत हटेको छ । धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरु वर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन”, ऐरले भने, “माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्ष पनि निरन्तरता दिने योजना छ ।”

धान काटेर थन्क्याई सकेका उनले खेतमा राखिएका माछा केही बिक्री गरेका छन भने केही बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ । धानखेतसँगै उनले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गरेका छन् । विगतका वर्षमा ५/६ बोरी मात्रै धान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उनको भनाइ छ । 

धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पु¥याउने उनको योजना छ । खेतमा माछापालनका लागि धान रोप्नुअघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ । त्यसपछि खेतमा पानी लगाइ हिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ । धान रोपेको १५ दिन पछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उनकोे भनाइ छ । 

माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि (मेण) बनाउनु पर्ने हुन्छ । “खेत र पोखरीमा गरी दुई सय क्विन्टल माछा उत्पादन भएको छ”, ऐरले भने, “यसको बजार मूल्य रु छ लाख रहेको छ ।” माछापालनका लागि मात्रै ऐरले रु पाँच लाख लगानी गरेका छन् । माछापालनसँगै उनले स्थानयी जातका कुखुरा, बङ्गुर, चाइनिज हाँस समेत पालेका छन् । 

फार्ममा माछा, कुखुरा, बङ्गुर र हाँस पालेका उनले यसका लागि भौतिक संरचना निर्माणमा रु ३० लाख लगानी गरेका छन् । फार्म सञ्चालनका लागि केही रकम आफूसंगै भएको र केही रकम बैंकबाट ऋण लिएको उनकोे भनाइ छ ।

कमेन्ट लोड गर्नुस