सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका बमले सडक क्षेत्रमा पर्ने घर आफै भत्काउँदै, आदर्श नगरवासीको सम्मान दिइने

२०७७ कार्तिक १२, ०९:०६ खबर संवाददाता

धनगढीः धनगढीका स्थानीयले सडक क्षेत्रअधिकारभित्र पर्ने भौतिक संरचना हटाउन थालेका छन् ।

धनगढी उप–महानगरवपालिकाका प्रवक्ता सन्तोष मुडभरीका अनुसार शहिद गेट–क्याम्पस चौक सडक क्षेत्रमा पर्ने घर हसनपुरका गम्भीरसिँह बमले भत्काउन थालेका हुन् ।

नगरको विकासमा कसैले अवरोध गर्न नहुने घर धनी बम बताउँछन् । ‘क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतको यो सडक १६ मिटरको बन्दैछ’ बमले भने, थोरै क्षेत्रधिकारमा मेरो संरचना पर्ने भएकाले मैले आफै भत्काउन सुरु गरेको हुँ ।’

उनले सडकको २२ मिटरभित्र पर्ने ४ कोठाको पक्की घर भत्काएको मुडभरीले जानकारी दिए । शहिद गेटदेखि क्याम्पस रोड सडकको ३ दशमलव ५ किलो मिटर सडक कालोपत्रे हुँदै छ । 

संघीय सरकारको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा १० किलोमिटर सडक कलोपत्रेको तयारी थालिएको हो । कालिका कन्ट्रक्सनले प्रारम्भिक चरणको काम थालेको छ । तर सडक निर्माणको काम भने सुरु भएको छैन् । अब केही दिनमै सडक निर्माणको काम सुरु हुने मुडभरीले बताए । 

क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरिया र कालिका कन्ट्रक्सनका प्रतिनिधी प्रकाशचन्द्र खरेलले गत असार २८ गते आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिन भित्रै सुरु गर्ने र २ वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ । ४२ किलोमिटर सडक निर्माणको योजना रहेकोमा १० किलोमिटर सडक निर्माणका लागि मात्रै सम्झौता भएको छ ।

गुलम–चर्च रोड ९२ हजार ७ मिटर, ट्राफिक चौराहादेखि–कैलाली नालासम्म १ हजार ३ सय ८० मिटर, हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल ७ सय मिटर, क्याम्पस रोड–चटकपुर ३ हजार ६ सय ५० मिटर, धनगढी–खुटीया–स्याउले रोड ८ सय ७० मिटर, मालपोत रोड ४ सय ३० मिटर र हसनपुर रोड  १ हजार १ सय ५० मिटर कालोपत्रेको तयारी थालिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालन भएको आयोजना अन्तरगतका अन्य योजनाको काम भने सुरु भएको छैन् ।

आदर्श नगरवासीको सम्मान
उप–महानगरपालिकाले सडक क्षेत्रधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रुपमा सम्मान गर्ने, भत्काएको भागको नक्सापासमा कर छुट गर्ने, सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता मुडभरीले बताए ।

‘नगरको विकास हामी सबैले चाहेर मात्रै सम्भव हुने हो’, प्रवक्ता मुडभरीले भने, ‘सडक क्षेत्रधिकारभित्र पर्ने संरचना भत्काएर सहयोग गर्न सबै नगरवासी संग अनुरोध गर्दछौं ।’

कमेन्ट लोड गर्नुस