६ लेन सडक : एम्बुस जस्तै कल्भर्ट !
धनगढी : अत्तरियामा निर्माणाधिन छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट व्यवस्थित नहुँदा दुर्घटनाको उच्च जोखिम बढेको छ ।
पानी निकासका लागि बनाइएका कल्भर्टहरु व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढेको हो । घर तथा पसल अगाडी निर्माण गरिएका कल्भर्टहरु एम्बुस जस्तै जोखिमयुक्त छन् ।धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बोराडाँडीका प्रेमराज पाठकले आफ्नै अगाडी निर्माण गरिएको कल्भर्ट व्यवस्थित नभएपछि दुर्घटनाको जोखिम बढेको बताए ।
घर अगाडीको कल्भर्ट देखाउँदै उनले भने, ‘सरकारले घर अगाडि फोहर नगर्नु भन्छ तर घरै अगाडी सडक बनाउँदा खाल्डो बनाएर छोडिएको छ । जोखिमयुक्त कल्भर्ट बनाइएको छ । न त पुर्न मिल्छ न सुरक्षित नै ।’
घनावस्ती रहेको मिलन चौकदेखि राजपुरसम्मका सडक क्षेत्रमा निर्माण भएका कल्भर्टहरु बढी असुरक्षित रहेको स्थानीयले गुनासो गरेका छन् । एकातिर पानीको निकास नभएको र अर्कोतिर दुर्घटनाको जोखिम बढाउने कल्भर्ट निर्माण गरिएको स्थानीयको भनाइ छ ।
धनगढी मिलनचौकमा होटल सञ्चालन गर्दै आएका जगदिश नागरीले भने, जवरजस्ती कल्भर्ट बनायो । पानीको निकास नभएको ठाउँमा कल्भर्ट बनाएर खुल्लै छोड्दा दुर्घटनाको जोखिम बढेको छ ।
कल्भर्टले दुर्घटनाको जोखिम बढेको विषयमा पटक–पटक ६ लेन सडक योजना कार्यालयलाई जानकारी गराउँदा समेत वेवास्ता गरेको स्थानीयको गुनासो छ ।
तर योजना कार्यालयले छिट्टै निकास खोजिने जनाएको छ । मोहनापुल अत्तरिया ६ लेन सडक योजना कार्यालयका इन्जीनीयर लक्ष्मण रावलले भने, ‘कल्भर्टबाट पानीको निकास निकाल्न र छ लेन सडकलाई थप व्यवस्थित बनाउन छिट्टै धनगढी उप महानगरपालिका संग छलफल गरेर निकास निकाल्छौ ।’