सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाका पत्रकार भट्टसहितको समूहले दियो ३० परिवारलाई दशैँ कोेशेली

२०७७ कार्तिक १०, ०५:५१ खबर संवाददाता

धनगढी : दशैँको कोेशेली अभियान सञ्चालन गरेका पत्रकार हेमराज भट्टसहितको समूहले ३० विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ ।

कैलालीको अत्तरियामा सञ्चालित गोदावरी एफएमका समाचार प्रमुख भट्टसहितको समूहले गोदावरी नगरपालिका क्षेत्रका ३० परिवारलाई दशैँका लागि आवश्यक खाद्य सामग्री सहयोग गरेका हुन् । नगर क्षेत्रका विपन्न, गरिब, असहाय, अपांगता भएका व्यक्ति तथा बाढी पीडितहरु गरी ३० परिवारलाई खाद्य सामग्री सहयोग गरेको भट्टले बताए ।

दैनिक मजदुरी गरी खाने परिवारलाई दशैँ मनाउन समस्या भएको भन्दै उनको समूहले खाद्य सामग्री सहयोग गरेको हो । उनले देश तथा बिदेशबाट समेत रकम संकलन गर्दै नगरपालिकाको सबै भन्दा बिकट वडा नम्बर १२ सिममा गत साउनमा आएको बाढीपहिरोले पूर्ण रुपमा बिस्थापित भएका ४ परिवार संगै वडा नम्बर १, २, ३ र ४ का ३० परिवारलाई चामल, दाल, पिठो, नून, तेल, अण्डा, मासु खानका लागि नगद, साबुन र सोडालगायतका सामग्री सहयोग गरिएको भट्टले जनाए । 

कोरोना संक्रमणको त्रासले गरिएको लकडाउन र निषेधाज्ञाका कारण आर्थिक अभावमा रहेका दशैँ मनाउन नसक्ने अवस्थामा रहेका परिवारलाई दशैँको दिनमा भएपनि एक गाँस खानाका लागि सहयोग गरेको उनको भनाइ छ । 

भट्टसंगै अभियानमा गौरीशंकर टोल सुधार संस्था तेघरीका प्रमुख सल्लाहाकार राजकुमार खड्का, पुष्कर ओझा, लोकेश साउँद, धर्मराज जोशी, मनोज पाण्डे, केशवराज भट्ट, दिपक साउँद सह अभियान्ताका रुपमा रहेका थिए । 
 

कमेन्ट लोड गर्नुस