टीका र जमरा लगाउन नपाउने भएपछि कैलाली, कञ्चनपुरका कैदीबन्दीको दशैँ खल्लो
धनगढीः कोरोना कहरले मान्यजनबाट टीका र आर्शिवाद थाप्न नपाउने भएपछि कैदीबन्दीहरुको दशैँ पनि खल्लो हुने भएको छ ।
कैलाली र कञ्चनपुर जिल्लाका कारगारमा रहेका कैदीबन्दीहरुले हरेक वर्ष कारागारमै मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गर्दै आएकोमा यसवर्ष भने कुनै पनि कार्यक्रम नहुने भएपछि उनीहरुको दशैँ पनि खल्लो हुने भएको छ ।
तैपनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी मौलिक परम्पराअनुसार दशैँ मनाउने तयारी गरिएको छ । कोरोना संक्रमणको जोखिमका कारण मान्यजनबाट टीका जमरा लगाउने कार्यक्रम स्थगीत गरिएपछि कैलाली र कञ्चनपुर कारागारका कैदीबन्दीहरुको दशैँ पनि खल्लो हुने भएको हो ।
संक्रमण फैलिन सक्ने भएकाले टीका, जमरा लगाउँदै आर्शिवाद दिन विगतमा जस्तो घर परिवारलाई खुल्ला नगरिएपछि विभिन्न निकायबाट प्राप्त भएका खसि र बोका भने काट्दै दशैँ मनाइरहेका कञ्चनपुर जिल्ला कारागारका जेलर मायाकुमार बस्नेत थापाले बताइन्।
उनका अनुसार कञ्चनपुर कारागारमा सत्तमीका दिन ८ बोका काटिएका थिए । ४ वटा खसि कैदीबन्दी मिलेर किनेका हुन् भने ४ वटा बाहिरबाट सहयोगमा मिलेका हुन् । कैदीबन्दीहरुमा टीका र जमरा लगाइने भएपनि आफन्तहरुले लगाउन पाउँने छैनन् ।
‘हामीले सूचना सार्वजनिक गरेका छौँ । कोरोना संक्रमणका कारण आफन्तहरुले टीका लगाउन दिइने छैन् । भित्र भने उनीहरु आपसमा लगाउने छन्।’ उनले दिनेश खबरलाई भनिन्।
गत विगतका वर्षमा कैदिबन्दीले कारागारमा नै हर्षोल्लासका साथ दशै मनाउदै आएका थिए । उनीहरुका मान्यजन दशैँमा कारागारमै पुगेर टीका र जमरा लगाउने गर्दथे । मौलिक परम्पराअनुसार नै कारागारहरुका दशैँ पर्व मनाउन गरिएको थियो ।
तर यसवर्ष भने कुनै पनि कार्यक्रमहरुको आयोजना गरिएको छैन् । जमरा, टीका लगाउन नपाईने भएपनि कारगाहरुले कैदीबन्दीका लागि सप्तमीदेखि नै मासुको प्रबन्ध मिलाएको छन् ।
कैलाली कारागारमा अहिले सम्म ८ खसी काटिएका छन् भने कञ्चनपुर कारागारमा पनि ८ खसी काटिएका छन् । ४/४ खसि बाहिरबाट सहयोग गरिएका हुन् भने बाँकी कैदीहरुले खरिद गरेका हुन् ।
कैलाली कारागारका जेलर महेन्द्र सिँह खड्काका अनुसार गत वर्षको जस्तो हर्षाेल्लास कैदीहरुमा छैन् ।
‘आफन्तबाट टीका र जमरा लगाउन नपाएपछि उनीहरु निरासा भएका छन् । कोरोना भाइरसको त्रासले गर्दा दशैँका अन्य कार्यक्रम स्थगीत गरिएका छन् ।’ उनले भने, ‘तर भित्र भने जमरा लगाउन पाइने छ । क्षमता भन्दा दोब्बर तेब्बर कैदीबन्दी भएकाले समेत जोखिम हुने भन्दै विशेष सावधानी अपनाईएको छ ।’