सुदूरपश्चिममा पनि दशैँ मनाउने शैली फेरियो, फेसबुक बन्यो आर्शिवाद ग्रहण गर्ने माध्यम
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर २ की अम्बिका भण्डारी प्रायः जसो हरेक वर्ष दशैँका बेला कुल देवताको पुजा गर्न पुख्यौली घर जाने गर्थिन् ।
भण्डारी दशैँमा आमाबुवा लगायत मान्यजनबाट टीका थाप्दै आर्शिवाद ग्रहण गर्न माईती घर पनि जान्थिन् भने इष्टमित्रसँग भेटघाट गर्दै शुभकामना आदानप्रदान गर्दै आएकी थिईन् ।
तर यसवर्ष भने कोरोना महामारीका कारण भण्डारीको दशैँ मनाउने शैली फेरिएको छ ।
भेटघाट र आवातजावत गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै यसवर्षको दशैँ घर भित्रै सिमित पारिएको भण्डारी बताउँछिन् । ‘आफू पनि कही नजाने, अरुलाई पनि घरमा नबोलाउने ।’ भण्डारीले भनिन्, ‘बरु फेसबुक र फोनबाटै मान्यजनबाट आर्शिवाद ग्रहण गर्छु । अहिले सुरक्षित भए दशैँ अर्को वर्ष मनाउला । स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो ।’
रोजगारीको सिलसिलामा संघीय राजधानी काठमाडौँ रहेका धनगढी तारानगरका सिद्धराज भट्ट पनि यसवर्ष दशैँमा घर फर्किन पाएनन्। घरपरिवारसँगै बसेर दशैँ मनाउने धोको भएपनि कोरोना संक्रमणको जोखिमका कारण भट्ट धनगढी नफर्किएका हुन् ।
अब दशैँको टीका र आर्शिवाद काठमाडौँमै बसेर फोन र फेसबुकमार्फत ग्रहण गर्ने तयारीमा रहेको उनी बताउँछन्। ‘कोरोना महामारीले गर्दा यो पाली दशैँ मनाउन घर फर्किन पाएन । अब काठमाडौँमै बसेर फेसबुकबाट आमाबुवाको आर्शिवाद लिन्छु ।’ भट्टले भने ।
श्रीमती भारत, छोरा काठमाडौँ र आफू धनगढीमा रहेको बताउने वरिष्ठ फिजिसियन डाक्टर बिएस बोहोराले पनि कोरोना कहरले प्रविधीको सदुपयोग गरेरै दशैँ मनाउने तयारी गरेका छन् । अत्यावश्यक स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत भएपनि डाक्टर बोहोरालाई घर परिवारसँगै दशैँ मनाउने इच्छा भने नभएको होईन् ।
स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएकाले सुरक्षित रहन सके अर्को वर्ष पनि परिवारसँगै चाडपर्व मनाउन पाईने भएकाले यसवर्ष भने एकैठाउँमा जमघट नगरिएको बोहोरा बताउँछन् । गत विगतका वर्षहरुमा समेत मुस्कीलले विदा पाउने गरेका चिकित्सकहरु त झनै कोरोना विरुद्धको लडाइमा अग्र मोर्चामा खटिएर काम गरिरहेका छन् ।
सेती प्रादेशिक अस्पतालमा प्रदेशभरीकै संक्रमितको उपचार हुने भएकाले ३ जना फिजिसियन डाक्टर मात्र उपलब्ध छन् । सिमित जनशक्ति र कोरोना महामारीका कारण चिकित्सकहरु पनि टीका र आर्शिवाद थाप्न घर फर्किन पाएका छैनन् । उनीहरुले पनि बिरामीको उपचारसँगै प्रविधीकै प्रयोग गरी आर्शिवाद ग्रहण गर्ने बताएका छन् ।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजन दत्त शर्माले भने, ‘कोरोना महामारी छ । अस्पतालहरुमा बिरामीको चाप पनि बढ्दो छ । घर जाने इच्छा भएपनि जान सकिएको छैन् ।
अब बिरामीको सेवा गरेरै दशैँ मनाउँछु ।’ यसरी कोरोना महामारीले सर्वसाधारणदेखि अत्यावश्यक सेवामा सेवारत चिकित्सक एवंम् केही प्रशासनिक कर्मचारी पनि मौलिक परम्परा भन्दा पनि यसवर्ष प्रविधीकै प्रयोग गरी दशैँ मनाउने तयारीमा रहेका छन् ।
कोरोनाको जोखिम उच्च भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी यसवर्षको दशैँ मनाउन सरकारले सबैलाई आग्रह समेत गरेको छ ।