कोरोना जितेका जनकराज : ख्याल ठट्टा नगरौं, सुरक्षित भई चाडपर्व मनाउँ
धनगढी : कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी यो दशैँमा निकै प्रफुल्लित छन् । सीमारहित खुशीका साथ जोशीले झण्डै आधा घण्टा कुरा गरे । हरेक खुशी र दुःखका सीमा र कारण हुन्छन् । जोशीको सीमारहित खुशीको कारण भने कोरोना हो ।
असोज २३ गते कोरोना संक्रमण पुष्टि भएका जोशीले कार्तिक ७ गते कोरोना जिते । उनले भने, पन्ध्र दिनसम्म कोरोनासँगको संघर्ष मेरा लागि जीवनको अविस्मरणीय र महत्वपूर्ण अध्याय रह्यो ।’
कोरोना लागि पो हाल्छ कि ? भनेर सजगता अपनाउँदा अपनाउँदैै आफु संक्रमित हुन पुगेछु । सुरुमा सामान्य लागेर घरमै एकान्तवासमा बसेको थिए तर ३ दिनपछि अवस्था असामान्य भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना हुन पुगे’ जोशीले भने ।
साउन महिनामा आफ्नो एक जना साथीमा कोरोना पुष्टि हुँदा आफू जोगिदा जोशीले रोगसँग लड्ने क्षमता आफूमा रहेछ । कोरोनाभन्दा बलियो रहेछु भन्ने ठानेको बताए । तर जब आफैँ कोरोनाको चंगुलमा परे त्यसपछि मात्रै आफूले रोगको वास्तविकता बुझेको उनले बताए ।
५३ वर्षीय जोशीले भने, म सुगर र प्रेसरको बिरामी । त्यसैमा कोरोना पुष्टि हुँदा पनि सुरुमा डराएको थिएन । घरमा छोराछोरी डाक्टर छन भन्ने लागेर घरमै बसेको थिए । तर अवस्था जटिलतातर्फ उन्मुख हुँदा अस्पताल जानैपर्ने भयो’ उनले घटनाक्रम सुनाए ।
सेती प्रादेशिक अस्पतालमा समयमै भर्ना हुन पाउँदा आफ्नो ज्यान जोगिएको जोशीले बताउँछन् । लक्षणसहितको संक्रमितले होम आइसोलेसनमा बस्नु खतरा हुने बुझाइ जोशीको छ । उनले भने, अस्पतालका डाक्टर, नर्सलगायत अन्य कर्मचारीको बोली व्यवहार र हेरचाहका कारण बिरामी ७० प्रतिशत निको हुने विश्वास जोशीको छ ।
कुराकानीको क्रममा जोशीले सेती प्रादेशिक अस्पतालको उपचार सेवा र त्यहाँ कार्यरत चिकित्सक, नर्स र सफाइ कर्मचारीको खुलेर प्रशंसा गरे । कोरोनालाई कसैले पनि ख्याल ठट्टामा लिन नहुने सुझाव जोशीको छ । उमेर पुगेका र दीर्घ रोगीहरुले संक्रमित भए अस्पताल जानु उपयुक्त हुने जोशीको भनाइ छ । कोरोनाले निकै दुःख दिने हुँदा सजग भएर संक्रमणबाट जोगिनु बुद्धिमानी हुने जोशीले बताए ।