कोरोनाबाट बच्न दशैँमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव
धनगढीः कैलाली र कञ्चनपुरमा दशैँतिहारपछि कोरोना संक्रमणको दर बृद्धि हुने आकलन गरिएको छ । सार्वजनिक सवारी खुलेसँगै संक्रमणको दर समेत बढेका बेला दशैँ तिहारमा हुने लापरवाहीले थप संक्रमण फैलिने आकलन गरिएको हो ।
भारतसँग सीमा जोडिएका यी जिल्ला सँगै दशैँतिहारमा पहाडी जिल्लामा समेत आवागमन बढ्ने भएकाले अहिलेको भन्दा जटिल परिस्थिती सिर्जना हुने अनुमान गरिएको छ । झण्डै साढे ९ हजार संक्रमित रहेकोे सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा ३ हजार ५ सय ४५ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जनसंख्या र क्षेत्रफलका हिसाबले अन्य जिल्लाको तुलनामा ठुलो रहेको कैलालीमा दैनिक संक्रमण समेत तिव्र रुपमा बढिरहेको छ । संक्रमण मात्र नभएर लक्षण सहितका संक्रमितको संख्यामा पनि बृद्धि भइरहेको चिकित्सकले बताइरहेका छन् ।
कैलालीपछि कञ्चनपुर, डोटी र अछाममा पनि संक्रमण तीव्र भइरहेकाले जोखिम बढ्दो छ । ‘कोरोनाबाट बच्न हरेक व्यक्ति जिम्मेवार हुनुपर्छ ।’सामाजिक मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने, ‘सरकारले मापदण्ड बनाएको छ, सबैले पालना गरे संक्रमण फैलिदैन् तसर्थ मापदण्डको कडाइका साथ पालना हुनुपर्छ।’
हुन् त यी बाहेकका जिल्लामा समेत दैनिक संक्रमित थपिदै गएका छन् । अस्पतालहरुमा कडा लक्षण भएका संक्रमितको चाप पनि बढ्दा उपचारमा समस्या हुन थालेको छ । उपकरणको उपलब्धता न्यून र सिमित जनशक्ति हुँदा अवस्था भयावह बनेमा थप चुनौती खेप्नुपर्ने निश्चित जस्तै छ ।
चाडपर्वका बेला प्रदेशको शहरी क्षेत्रमा संक्रमण सघन हुँदै गर्दा हरेक टोल र घरमा संक्रमित भेटिने संम्भावना बढेको तर्फ सजक हुन चिकित्सकहरुले सुझाएका छन्।
सेती प्रादेशिक अस्पतालका कन्सलटेन्ट फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौड्यालले भने, ‘शहरी क्षेत्रमा पछिल्लो समयमा संक्रमण बढेको छ, दशैँ तिहारमा भिडभाड बढे स्थिति भयावह हुनसक्छ, तसर्थ सजग हुन जरुरी छ। साथै दशैँमा टिका लगाउन सुरक्षित तरिका अपनाउनु जरुरी छ। ’
दशैँ र तिहारमा हुने आवागमनले समुदायमा थप जोखिम बढाउने अनुमान गरिएको छ । तसर्थ संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइ सहित स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न सुझाव दिईएको छ ।
यो वर्ष सरकारले पनि संक्रमणबाट बच्न सकभर यथास्थानमै दशैँ तिहार मनाउन आग्रह गरेको छ।