सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय प्रशासनको आदेशले छेकेन पशुबली, निङ्गलाशैनी मन्दिरमा बली चढाईदै

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक ८, ०७:४७ खबर संवाददाता

धनगढीः स्थानीय प्रशासनले रोक लगाएको भएपनि बैतडीमा महाअष्टमीका अवसरमा दिइने पशुबली रोकिएको छैन् ।

जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा कोरोना महामारीकैबीच पशुबली चढाउन लागिएको हो ।

यसअघि नै भाकल गरिसकेका भक्तजनहरुले पशुबली दिन रागा शुक्रबार राती मन्दिरमा पुगाइसकेका छन् । निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले भक्तजनहरुले मन्दिरमा चढाउन रागा ल्याएकाले रोक्न नसकिएको बताए ।

‘स्थानीय प्रशासनले रोक लगाएको हो । हामीले पनि सूचना जारी गरेका थियौँ ।’ बोहराले भने, ‘तर  गृह मन्त्रालयले पनि कडा आदेश दिएको थियो । यातायात चलेको छ । हामीलाई रोक्ने को हुन्छ भनेर जनताले प्रतिकार गरेपछि भीडभाड नगरीकन बली चढाउने व्यवस्था मिलाइरहेका छौँ ।’

उनका अनुसार शनिबार बिहान सम्म बली चढाउन करिब ३० रागा मन्दिरमा पुगाइसकिएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी पशु बली दिइने व्यवस्था मिलाउन लागेको बोहराले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले भने रोक लगाएका बेला निङ्गलाशैनी भगवती मन्दिरमा पशुबली दिइरहेको विषयमा अनभिज्ञता प्रकट गरे । ‘खै मलाइ त्यो विषयमा थाहा भएन । पशुबली नगर्ने भन्ने कुरा हो ।’ उनले दिनेश खबरसँग भने ।

जिल्ला प्रशासन कार्यालयले यसअघि नै सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिमका कारण मन्दिरहरुमा सामूहिक पूजापाठ गर्न तथा पशुबली चढाउन रोक लगाएको थियो ।

तर स्थानीयले भने धार्मिक परम्परा र  आस्थालाई तोड्न नसकिने भन्दै पशुबली दिइरहेका हुन् ।  निङ्गलाशैनी भगवती मन्दिरमा हरेक वर्ष महाअष्टमीका दिन पशुबली दिने गरिन्छ ।

यस्तै बैतडीकै उदयदेव भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी मन्दिर,त्रिपुरा सुन्दरी,रणशैनी मन्दिरलगायतका मन्दिरमा महाअष्टमी र महानवमीमा पशुबली दिदै आइएको छ । 
  

कमेन्ट लोड गर्नुस