खानेपानी पाइप मर्मत नहुँदा गँहु रोप्ने खेत बन्यो ताल !
धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर ५ मा एक महिना पहिलेदेखि सडक निर्माण गर्दा खानेपानीको पाइप फुटेको छ ।
खनेपानी संस्थानले बिस्तार गरेको सो पाइप मर्मत नहुँदा हिउँदे सिजनको चटारो लागेको बेला किसानलाई सास्ती भएको हो ।स्थानीय सन्तराम चौधरीले सडक निर्माणको क्रममा जेसीबीले खानेपानीको पाइप फुटाएको तर हालसम्म मर्मत नहुँदा बगेको पानी आफ्नो खेतमा जम्मा भएको बताए ।
‘पानीको पाइप फुटेपछि ठेक्दारहरु खानेपानीमा गएका थिए । हामीहरुले पनि भनेका हौ । तर मर्मत भएको छैन् । धान काट्दा समेत पानी थियो । पानी खेतमा जम्मा छ । गहुँ लगाउन समेत समस्या हुने देखिएको छ’, स्थानीय चौधरीले भने ।
पाइप मर्मत नहुँदा एकातिर पानी खेर गैरहेको छ । भने अर्कोतिर बगेको पानी स्थानीयको खेतबारीमा जम्मा हुँदा किसानलाई बाली रोप्न असहज भएको छ । तर पाइप मर्मतको लागि सरोकारवाला निकायलाई आग्रह गर्दा पनि वेवास्ता भएको स्थानीयको दुखेसो छ ।
स्थानीय मौसम बमका अनुसार खानेपानी संस्थाथानलाई फुटेको पानीको पाइप मर्मतका लागि आग्रह गरेको बताए । संस्थानका कर्मचारी फुटेको पाइप मर्मतका लागि आएको तर विना मर्मत गरी फर्किएको उनको भनाइ छ ।
खानेपानी संस्थानले फुटेको खानेपानीको पाइप समेत निर्माण कम्पनीले मर्मत गर्नुपर्ने भन्दै मर्मत नगर्न इन्कार गर्दै आएको छ । खनेपानी संस्थान धनगढीका प्रमुख अविन्द्रलाल कर्णले निर्माण कम्पनीलाई फुटेको पाइप मर्मत गर्न भनेको बताए ।
‘सडक निर्माण गर्दा पाइप फुटेको हो । उहाँहरुले नै मर्मत गर्ने हो । तर एक महिना हुँदैछ । पाइप मर्मत भएको छैन् । हामीले फोन पनि गरेका छौ । तर सुनिएको छैन् । हामी कानूनी प्रक्रियामा जानेवाला छौ’ उनले भने ।
वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातलीले समेत पटक–पटक फुटेको पाइप मर्मतका लागि आग्रह गर्दै आएको दावी गरेका छन् । तर निर्माण व्यवसायीले वेवास्ता गरेको उनको भनाइ छ । ‘मैले हिजो पनि फोन गरेको थिए । कुरा भएको थियो । उहाँहरुको फोन समेत उठ्दैन् । फुटेको पाइप मर्मत नभएकाले स्थानीयको फोन आउने गरेको छ ।’
धनगढी उप–महानगरपालिकाबाट जाई–मट्यारी सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले दिनेश खबरको समेत फोन उठाएनन् ।