सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने

२०७७ कार्तिक ६, ०२:५८ खबर संवाददाता

धनगढी: धनगढीको जुगेडामा हत्या गरिएका प्रहरी सहायक निरीक्षक(असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग रकम दिने निर्णय गरेको छ। 

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो। हाललाई परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय भएको मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव ओलीले बताए। 

शनिबार साँझ गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज(असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद मृत फेला परेका थिए। उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ।

अवैध समानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए। सोही समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो।

कमेन्ट लोड गर्नुस