सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रहरी हत्याकाण्डबारे गृह र प्रहरी प्रधान कार्यालय किन मौन ?

२०७७ कार्तिक ६, ११:१३ खबर संवाददाता

धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर बिकको हत्या भएको ६ दिन पूरा भएको छ ।

नियमित गस्तीमा खटिएका बेला विभत्स हत्या गरिएका प्रहरी सहायक निरीक्षक र जवानका बारेमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले भने कुनै प्रतिक्रिया जनाएको छैन् ।

‘त्यो जघन्य अपराधको घटना हो । हामी सबैलाई त्यसले दुःखित तुल्याएको छ’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत भन्छन्, ‘संलग्न व्यक्तिहरुलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको छ । यस्तो बेला अनुसन्धानलाई प्रभावित हुने गरी कुनै खालका अभिव्यक्ति दिनु हुँदैन् भन्ने हो ।’

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भने प्रहरी हत्याकाण्डमा प्रतिक्रिया नआउनुको कारण आफूलाई थाहा नभएको बताउँछन् । ‘के प्रतिक्रिया आउनुपथ्र्यो र ? मलाई थाहा भएन’ प्रवक्ता बुढाले भने, ‘त्यो बारेमा छलफल भएको पनि जानकारी छैन् ।’ 

तर सामाजिक सञ्जालमा गस्तीमा खटिएका बेला २ प्रहरीको हत्या हुँदा समेत गृह र प्रहरी प्रधान कार्यालय मौन रहेको भन्दै आलोचना भइरहेको छ ।

पत्रकार जी भट्ट लेख्छन्, ‘कैलालीमा कर्तव्यपालनका क्रममा तस्कर गिरोहबाट हत्या गरिएका २ जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रमुख आईजीपी, गृहमन्त्री, प्रधानमन्त्रीबाट हालसम्म कुनै सार्वजनिक अभिव्यक्ति आएको छ कि छैन ? राष्ट्रसेवकका नाममा २ शब्द राख्दा वा अन्य राष्ट्रसेवकको हौसला बढाउने गरी अभिव्यक्ति दिँदा तस्करहरूको जुठो र दानापानी रोकिने त होइन होला नि ? दुवै राष्ट्रसेवकलाई शहीद घोषणा गराउन छलफल चलाउन ढिला भएन र ?’

हुन त प्रहरी हत्या काण्डको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली समेत कैलालीमा रहेको छ । तर यस्तो बेला पीडित परिवारलाई सहानुभुती र सवेदना दिन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले अग्रसरता देखाउनुपर्ने भएपनि वेवास्ता गरेको आरोप लागेको छ ।
 

कमेन्ट लोड गर्नुस