सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि

२०७७ कार्तिक ५, ०१:२२ खबर संवाददाता

धनगढीः हत्या गरेको अवस्थामा भेटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अन्त्येष्टि गरिएको छ ।

साउदको अछामको कैलाश खोलामा शोक सलामी सहित अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएका थिए ।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै वेपत्ता भएका प्रहरी जवान साउदको शव मंगलबार मोहना नदीमा गाडेको अवस्थामा फेला परेका थियो ।

प्रहरी सहायक निरीक्षक बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल उनको शव भेटिएको थियो । बिकको भने आइतबार बिहानै शव भेटिएको थियो ।

दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ ।

उनीहरु मध्ये ७ जनाले अपराध स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको थियो भने १ जनालाई बुधबार पक्राउ गरिएको छ ।

केही व्यक्ति अझै फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस