डडेल्धुराको मम्मे गाउँमा खानेपानी पुगेपछि खुशियाली
डडेल्धुरा: लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएको डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ मम्मे गाउँमा खुशियाली छाएको छ। मम्मेका घरआँगन मै खानेपानीका धारा पुगेपछि गाउँभरी खशियाली छाएको हो।
यसअघि करिब अढाई घण्टा हिँडेर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएपछि स्थानीयहरुले बाजागाजासहित खुशियाली मनाएका छन्।
गाउँमा सोलार लिफ्टीङ प्रविधीमार्फत खानेपानी आएको छ। करिब २० वर्षदेखि खानेपानीको समस्या झेल्दै आएका मम्मे गाउँका जनताहरुका लागि सकालय नदिबाट सोलार प्रविधीमार्फत करिब साढे ३ सय मिटर उचाईमा पानी तानिएको नवदुर्गा गाउँपालिका अध्यक्ष कबिन्द्र विष्टले बताए।
करिब ६८ लाखको लागतमा गाउँमा २४ वटा धारा निर्माण सहित सोलार लिफ्ट मार्फत खानेपानी पुर्याइएको उनले बताए। ‘गाउँ माथिको डाँडामा १३ हजार लिटर क्षमताको ट्याङकी निर्माण गरी गाउँभरी पानी वितरण भएको छ’ उनले भने।